एजेन्सी, ५ पुष । विश्वव्यापी रुपमा महिला र पुरुषबीचको पारिश्रमिक अन्तर हट्न अझै २०२ वर्ष लाग्ने ‘वर्ल्ड इकोनोमिक फोरम’ को रिपोर्टले जनाएको छ । लैङ्गिक समानताको विषयलाई विश्वमा धेरै गम्भीर रुपमा लिइएपनि समाजमा ज्यादै सुस्त गतिमा परिवर्तन आइरहेको हुँदा यस्तो नतिजा देखिएको द गार्जियनले जनाएको छ ।
१४९ देशको निरीक्षणपछि तयार पारिएको सो रिपोर्ट आर्थिक भागिदारी तथा अवसर, स्वास्थ्य तथा राजनीतिक सशक्तिकरण र शैक्षिक प्राप्तिका आधारमा तयार पारिएको हो जसमा आर्टिफिसियल इन्टेलिजेन्स ‘आईटी स्किल्स’ अर्थात प्राविधिक योग्यता पनि समावेश गरिएको छ
व्यवसायी तथा विश्व नेताहरुहरुको उपस्थितिमा वर्ल्ड इकोनोमिक फोरमले स्वीट्जरल्यान्डको डभोसमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बैठक आयोजना गर्ने गरेको छ । जसमा विगतको तुलनामा, व्यावसायिक स्थलमा महिलाको सहभागितामा गिरावट आएको देखिएको हो । यस्तोमा फोरमले अब २१७ वर्षमा मात्र यो अन्तर हट्न सक्ने अनुमान गरेको छ । यसरी विश्वमा वास्तवमै लैङ्गिक असमानता बढ्दै गएको फोरमकी सामाजिक तथा आर्थिक एजेन्डा प्रमुख सादिया जाहिदीको भनाइ छ ।
विश्वव्यापी हिसाबले सामान्य अवस्थामा महिलाहरुले पुरुषको कमाइको केबल ६३ प्रतिशत पारिश्रमिक मात्र पाउने गरको रिपोर्टमा उल्लेख छ । यसरी महिलाहरुले अझैपनि कार्यस्थलमा वरिष्ठ आधिकारिक भूमिका निर्वाह गर्न धेरै ठूला चुनौतिको सामना गर्नुपर्ने देखिएको हो । त्यस्तै राजनीतिमा पनि महिलाहरु धेरै पछाडि परिरहेको पाइएको छ । जसमा महिला राजनीतिज्ञहरुको सङ्ख्या पुरुषको जति पुग्न अझै १०७ वर्ष लाग्ने फोरमको भनाइ छ । १४९ देशहरुको अध्ययन गर्दैगर्दा त्यसमध्ये केबल १७ देशका राष्ट्रिय प्रमुख मात्र महिला भएको पाइएको हो । त्यस्तै मन्त्री तथा संसदका सदस्यहरुमा पनि विश्वव्यापी रुपमा महिलाहरुको सहभागीता क्रमशः १८ प्रतिशत र २४ प्रतिशत मात्र रहेको पाइएको छ ।
यसरी आर्थिक, राजनीतिक, सामाजिक लगायत सबै क्षेत्रमा लैङ्गिक समानताको मुद्दामा आइसल्यान्ड सबैभन्दा अगाडि रहेको छ तर त्यहाँ पनि अझै पुरुष र महिलामा ३३ प्रतिशत भिन्नता रहेको पाइएको छ जुन पछिल्लो वर्षको तुलनामा वृद्धि भएको हो । यसपछि नर्वे, स्वीडेन, फिनल्यान्ड, निकारागुआ, र्वान्डा, न्युजिल्यान्ड, फिलिपिन्स, आयरल्यान्ड र नामिबिया समानताको सूचीमा शिर्ष १० मा परेका छन् । त्यसमा पनि आइसल्यान्ड बाहेकका शीर्ष ६ राष्ट्रमा मात्र ५० प्रतिशत लैङ्गिक समानता रहेको बताइएको छ । यता दक्षिण एसियाको सूचीमा बांग्लादेश अगाडि रहेको छ भने नेपाल १०५ औँ स्थानका साथ तेस्रोमा रहेको छ र भारत चाहिँ विश्वव्यापी रुपमा १०८ औँ मा रहेको छ । त्यस्तै अष्ट्रेलिया ३९ र बेलायत १५ औँ मा रहेका छन् ।
यसरी मूल्याङ्कन गरिएका लगभग एक चौथाइ देशहरुमा लैङ्गिक समानता १० प्रतिशत भन्दा कम रहेको पाइएको हो जसमा सबैभन्दा खराब प्रदर्शन गर्नेमा कुवेत, लेबानन, ओमान र यमन रहेका छन् । यी देशहरुमा अझै महिला र पुरुषबीच ९७ प्रतिशतको अन्तर रहेको छ । यसरी विश्वका आधा भन्दा बढी जनसङ्ख्याका कुशलता, विचार र दुष्टिकोण नजरअन्दाज हुनु धेरै दुःखको कुरा रहेको फोरमका कार्यकारी निर्देशक कलोस स्क्वाबले बताएका हुन् ।