काठमाडौं, ५ पुस । संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरु आज पनि नेकपा स्थायी र कांग्रेस महासमिति बैठककै वरिपरि घुमेका छन् । यद्यपि, केही दैनिक पत्रिकाहरुले भने यसबाट सिफ्ट भएर खोजमूलक सामग्रीलाई प्रमुख समाचारका रुपमा छापेका छन् ।
नयाँ पत्रिका दैनिकले मन्त्रीहरुले दोहोरो इन्धन सुविधा चप्काउँदै आएको विषय उठाएको छ । नयाँ पत्रिकाका अनुसार, २४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधा लिँदै आएका छन् । यति मात्रै होइन, स्वकीय सचिवलाई पनि गैरकानूनी रुपमा गाडी र इन्धन दिलाएका छन् । तर, अर्थमन्त्री युवराज खतिवडाले भने त्यस्तो दोहोरो सुविधा नलिएको समाचारमा लेखिएको छ ।
नयाँ पत्रिका लेख्छ- प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दोहोर्याइरहेका छन् । तर उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषदका सदस्यहरुको पारिश्रमिक सेवा-सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतबाट तेल हालिरहेका छन् ।
समाचारअनुसार अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ । सरकारी कर्मचारीबाटै सम्पत्ति असुरक्षित भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । आपराधिक गिरोहसँग मिलेर धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् । समाचार अनुसार यस्ता दुई समूहलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेको छ ।
एसपी बढुवाका लागि नियमावली संशोधन गर्न लागिएको, कांग्रेसमा विवाद अझै नमिलेको लगायत समाचारलाई पनि नयाँ पत्रिकाले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।
सरकारले ल्याएको कर्मचारी समायोजनविरुद्ध आन्दोलित कर्मचारीहरुको तस्वीर मुख पृष्ठमा छापेको कान्तिपुरले कांग्रेस महासमिति बैठकको सहमति भाँडिएको लेखेको छ । पदाधिकारी छनोटबारे नेताहरुबीच जुटेको सहमति एकै रात नटिक्दा चालू कांग्रेस महासमिति बैठक अन्योलमा धकेलिएको समाचारको सार छ ।
मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई दिन विज्ञले सुझाव दिएकोलाई पनि कान्तिपुरले महत्त्वका साथ पहिलो पृष्ठमा समेटेको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनीले यसबाट हात झिकेपछि अन्योल बढेको छ । यहीबीच विज्ञहरुले जलविद्युत् आयोजनाका अनुभवी स्वदेशी ठेकेदारलाई बाँकी काम दिन सुझाएका छन् ।
अन्नपूर्णले अन्य दैनिक पत्रिकाभन्दा अलि पृथक विषय जनता आवास कार्यक्रमको बेथितिबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, भएका छाप्रा भत्काएर नयाँ बनाइदिने आश्वासन पूरा नगर्दा धनुषाका कैयन व्यक्तिले दुई हिउँद बिताएका छन् । तथापि, अझै नयाँ बन्ने छाँटकाट छैन ।
नागरिक दैनिक आज पनि नेकपा र कांग्रेस बैठककै वरिपरि घुमेको छ । कांग्रेस महासमिति बैठक गुटगत गोलचक्करमा फसेको उसको निष्कर्ष छ । नेकपामा एक व्यक्ति एक पद कार्यान्वयनको माग बढेको समाचारमा उल्लेख छ ।
भारतमा भारतीय जनता पार्टी पराजित हुनुको कारणबारे नागरिकले एंकर समाचार लेखेको छ । समाचार अनुसार भाजपा हारको मुख्य कारण अगस्टासँग खरिद गरिएको हेलिकोप्टर हो ।
गोरखापत्रमा चक्रपथमा मोनोरेल चलाउन सहमति भएको खबर छ भने राजधानी दैनिकले प्रदेश बिदामा संघीय कार्यालय बन्द भएको लेखेको छ ।