वीरगञ्ज ३ पुस । पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् ।
प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।
एसपी ढकालका अनुसार, बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले आफ्नो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गर्दै डिजेल र बाइक लगेका थिए । आक्रमणपछि उनीहरु भारततर्फ भागेका थिए । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।