परासी, ३ पुष । उखु क्रसिन सिजन एक महिना वितिसक्दा पनि उखु मिल संचालनमा नआउँदा उखु किसानहरु अन्यौलमा परेका छन् । साहु महाजन कहाँबाट चर्काे व्याजदरमा ऋण लिएर गरेको उखु खेती अहिलसम्म खेतमै सुकिरहदाँ किसानहरुलाई ऋणको ब्जाज र घर व्यवहार समेत मिलाउन समस्या भएको गुनासो गरेका छन् ।
एका तर्फ सरकारले अहिलेसम्म उखुको उचित मुल्य निर्धारण नगर्नु अर्काे तर्फ चिनी मिलका संचालकहरु आलटाल गर्दै अहिलेसम्म मिल संचालन नगर्नुले मिल चल्ला कि नचल्ला भनि किसानहरु अन्यौलमा परेका छन् । मिल समयमै संचालनमा नआउँदा किसानहरु गहुँ, मसुरो, केराउ र तोरी खेती सिजन सकेर सो खेतीबाट बन्चित त भए नै यता खेत मै उखु सुकेर किसानहरुलाई थप घाटा भैरहेको सुस्ता गाउँपालिका ३ नर्सहीका उखु किसान लख्खु यादवले दुखेसो पोखे ।
स–साना किसानहरु घर व्यवहार मिलाउन बाध्य भई स–साना उखु क्रसर तथा बिचौलियाहरुलाई ३५० देखि ४०० रुपिया प्रति क्वीन्टल सस्तोमा उखु विक्री गरिरहेका छन् । जिल्लामा ईन्दिरा सुगर मिल, बागमति खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुला चिनी उद्योग र ५० भन्दा बढि स–साना उखु क्रसरहरु संचालनमा छन् । यि ठुलो मिलहरु किसानहरुको बक्यौता रकम ५ करोड रुपैया अझै भुक्तानी दिएका छैनन अर्काे तर्फ समयमै मिल नचलाएर किसानहरुलाई सस्तो उखु खसाल्न बाध्य बनाई रहेको प्रतापपुर गाउँपालिका ८ पिपरपातीका किसान युवराज मौर्यले गुनासो गरे ।
विगतमा मंसिरमै उखु मिलहरु संचालनमा आई उखु क्रसिङ्ग गर्ने गर्दथे तर अहिलेसम्म उखु मिल संचालनमा नल्याउँदा किसानहरु अन्यौलमा परि ठुलो मर्कामा परेका छन । सरकारले समयमै उखुको उचित मुल्य निर्धारण गर्न र उखु मिलहरुलाई तत्काल संचालनमा ल्याउन पहल गरिदिन उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकार संग आग्रह गरेका छन् ।
समितिका अध्यक्ष यादवले जानकारी दिए अनुसार सरकारले किसानहरुलाई दिएको अनुदान रकम प्रति क्वीन्टल ६५.२८ रुपैया झन्झटिलो प्रक्रियाका कारण किसानहरुले सो अनुदानको रकम पाउन सकेका छैन । यस गण्डक कमाण्ड क्षेत्रका अधिकांश किसानहरु उखु खेती हुण्डा, उखडा, आठ नं. प्रति र बगर नदीको छेउछाउमा गरेकाले सो पुजा नहुँदा अनुदान रकम पाउनबाट बन्चित नै भैरहेको अध्यक्ष यादवले दुख सुनाए । उनले, सरकारले अनुदानको रकम पाउन सहज प्रक्रिया बनाएर किसानहरुलाई सहजै सो रकम उपलब्ध गराउन आग्रह गरे ।
यता उखु मिलका संचालकहरुले मिल संचालन नगरि किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको किसानहरुले गुनासो गरेका छन् । मिल संचालकहरुले मिलको मर्मत कार्य भैरहेकाले मिल संचालनमा ढिलाई भएको सफाई दिदै किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको पाइएको छ । त्यसैमा मौकाको फाईदा उठाउदै बिचौलियाहरु ठाउँ–ठाउँमा उखु खरिद सेन्टर राखी सस्तोमा उखु खरिद गर्ने चलखेलमा लागेका छन् ।
जिल्लामा कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन् । सो खेतीबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।