काठमाडौं , २८ मंसिर । सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । सरकारले ती दरका भारु ल्याउन र साथमा राख्न गैरकानुनी हुने भन्दै चलचल्तीमा नल्याउन, नबोक्न र नराख्न नेपाल राष्ट्र बैंकमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ ।
गत सोमबार (मंसिर २४ गते) बसेको मन्त्रिपरिषद बैठकले भारु २००, ५०० र २००० दरका नोट भारत सरकारले नै चल्तीमा ल्याउन छाडिसकेका कारण त्यस्ता नोट ‘खोटो’ हुने भएकाले नबोक्न, नराख्न र चल्तीमा नल्याउन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले दुई वर्षअघि नै भारु ५०० र १००० दरका नोट चल्तीमा नल्याउन निर्देशन जारी गरेको भए पनि सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वी क्षेत्रमा रहेको हुन सक्ने र त्यस्तो रकम १ अर्बको हाराहारीमा रहेको बास्कोटाको भनाइ थियो ।