परासी, २८ मंसिर । नवलपरासीमा सेतो मटर र मरिचको तस्करी बढेको पाइएको छ । जिल्लाका तस्करहरु प्रहरीलाई छल्दै विदेशी सेतो मटर, मकै र मसलाको आँडमा मरिचको तस्करी गर्ने गरेको खुलेको छ । जिल्लाको सिमामा व्यवसायिक फर्म खोलेर बसेका तस्करहरु नेपालका मुख्य–मुख्य बजारबाट मटर, मकै, मरिच, सुपारी र विभिन्न मसलाका सामानहरु पिकपमा रातारात ल्याएर अवैध रुपमा भारतमा निकासी गर्ने गरेको महेसपुरबासीले आरोप लगाएका छन् ।
व्यपारीहरु मालसमान ल्याउदाँ सक्कली झै देखिने नक्कली विल देखाएर प्रहरीहरुलाई समेत झुक्याई भारतमा अवैध निकासी गर्ने गरेको महेसपुर भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै महेसपुर भन्सार कार्यालयले मंसिर ४ गते २ लाख १२ हजार ५ मुल्य बराबरको २४० बोरा विदेशी सेतो मटर बरामद गरि निलाम गरेको छ । भन्सार कार्यालय प्रमुख हेमचन्द्र शर्माको नेतृत्वमा तस्करीको रुट पत्ता लगाउन बसैया नाकामा पुगेको टोलीले रातो प्लेटका २ वटा पिकपमा सेतो मटर लोड भई आईरहेको देखेपछि पिछा गरि बरामद गरेका थिए । एका त रातो नम्बर प्लेटका ति दुवै पिकपलाई भाडामा लगाइएको थियो भने पिकमा लोड भएको मटरको बिल नक्कली बिल ठहर भएकाले सो पिकप सहितको मटर भन्सारका कर्मचारीहरुले कब्जामा लिएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
उनले भने, व्यपारीहरु मटर र पिकप छोडन विभिन्न पार्टीगत दबाब दिलाउने र ४ लाख रुपैया घुस समेत दिन खोजेको आरोप लगाए । बरामद मटर भारतमा निकासी गर्ने र मटरको बिल नक्कली सावित भएपछि भन्सारले उक्त मटर २ लाख १२ हजार ५ सय रुपैयामा निलाम गरेको थियो तर उक्त मटर बोक्ने लु १ च ६९७७ र लु २ च ४७२ नम्बरको पिकप भने भन्सारकै कब्जामा छ ।
भन्सार कार्यालयले उक्त दुबै पिकपको धरौटी मुल्य १६ लाख ९५ हजार रुपैया तोकेको छ तर पिकप साहुले पिकप धरौटीमा बार्गेनिङ्ग गर्दा नमिलेर पिकप धरौटीमा लान सकेको छैन । पिकपमा लोड मटरको बिल नक्कली र अवैध तरिकाले भारत निकासी गर्न लागेकाले मटर जफत भई निलाम भएको छ । यता कारोबारमा प्रयोग भएका ति दुबै पिकपका चालक र व्यपारीहरुको ब्यान पश्चात भन्सारले निर्णय गरि गाडी समेत निलाम गर्ने प्रक्रियामा अगाडी बढनो जनाएको छ ।
जिल्लामा तस्करी न्युनिकरण गर्न भन्सारका प्रमुख शर्माले सुरक्षाकर्मीहरुको समन्वयमा सबै नाकाहरुमा निगारनी बढाउने बताए । उनले भने, तस्तो तस्करी कारोबारमा सहयोग गर्ने प्रहरी चौकीका सुरक्षाकर्मीहरु समेतलाई निगरानी गरि प्रशासन मार्फत कार्वाही गराउने बताए ।
अहिले भन्सारलाई स्थापित गर्न अनलाई सेवा सुरु गरिए संगै भन्सारको सामान्य मर्मत र जग्गा अधिग्रहण तथा आवश्यक भौतिक संरचनाका लागि योजना बनाईरहेको प्रमुख शर्माले जानकारी दिए ।