कुलो–नालमा जनप्रतिनिधिको गिद्धे नजर : व्यक्तिगत फाईदाका लागि जब बिधायक बैजनाथ जयसवालले नै पुर्न थाले सिँचाई कुलो

0
332


परासी, २६ मंसिर । व्यक्तिगत फाईदाका लागि सार्वजनिक कुलो पुरी बाटो निकाल्ने कार्य नवलपरासीमा बढेको पाइएको छ । भु–माफियाहरु जनप्रतिनिधिहरुलाई प्रलोभनमा पारी सार्वजनिक सम्पत्ति कुलो–नाला पुरेर आ–आफनो जग्गा बाटोमा पारी जगाको मुल्याङ्कन बढाउन यस्तो गलत कार्य गरिरहदाँ पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।

बिधायक बैजनाथ जयसवालले नै पुरे कुलो

सार्वजनिक सम्पत्ती संरक्षण गर्नु पर्ने ठाउँमा जब नेपाल सरकारकै प्रतिनिधि प्रदेश ५ को प्रदेश सभा सदस्य (विधायक) बैजनाथ जयसवालले नै कुलो पुरेर बाटो निकाल्न लागेपछि जिल्लामा उनी आलोचनाको पात्र बनेका छन् । विधायक जयसवालले व्यक्तिगत फाईदाका लागि आफनो जग्गा बाटोमा पार्न रामग्राम नगरपालिका ३ मा पर्ने विद्युत वितरण केन्द्र परासीबाट बगेको कुलो ओमशान्ती टोल र आरमी क्याम्प हुदै रावणखण्डामा मिसिएको उक्त कुलो पुरेर अवैधानिक रुपले बाटो निकाल्ने प्रयास गरेको पाइएको छ ।

ओमशान्ती टोलको दक्षिण तर्फ र आरमी क्याम्पबाट पुर्व तर्फ ओमशान्ती मार्गमा टच भएको विधायक जयसवालको करिब १ विगाहा जग्गा रहेको राप्रपाका नगरसभापति रामभवन यादवले बताए । उनले भने सोही जग्गामा विधायक जयसवालले आफनो घर पनि बनाएका छन् । उनले बनाएको घरको कम्पाउण्ड पनि कुलो मिचेर बनाइएको कुरा त एका तर्फ छ भने अर्काे तर्फ आफनो जग्गालाई बाटोमा पार्न करिब १ सय मिटर दुरीसम्ममा कुलो पुरी २० फिटको बाटो निकाल्ने योजनामा लागेर बाटो निर्माण समेतको कार्य गरिरहेको यादवले जानकारी दिए ।

राप्रपाका नगरसभापति यादवले भने, प्रति कठ्ठा ५ देखि ६ लाख रुपैयामा खरिद गरेको उक्त जग्गामा उक्त तर्फ प्लटिङ्ग गरि बाटो त निकालेकै छन् छने भने दक्षिण तर्फ कुलो मासेर बाटो निकाली आफनो जग्गा दुबै तर्फबाट बाटोमा पारेर जग्गा प्रति धुर २ लाख ५० हजार देखि ३ लाख रुपैयासम्मा विक्री गर्ने बिधायक जयसवालको योजना रहेको यादवले आरोप लगाए ।

कुलो पुरिएपछि ओमशान्ती टोलको पानी र बाढीको पानी निकास बन्द भई टोलनै डुबानमा पर्ने र कुलोको पानीले त्यहाँ लगाईने बालीनालीलाई सिंचाई समेत गर्ने अवस्था नरहने नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले जानकारी दिए ।

अध्यक्ष उपाध्यायले भने, कुलोलाई कसैले मिचेर कम्पाउण्ड र घर बनाएको छ भने कसैले जबरजस्ती बाटो निकालेको छ । यसरी कुलो अतिक्रमण र बाटोको नामममा पुरिएर सखाप भएपछि पानीको निकास नै बन्द हुने देखिन्छ । यसरी अतिक्रमण र मिचिएको कुलोलाई पुनः कुलोको रुपमा कायम गर्न उपाध्यायले रामग्राम नगरपालिकालाई आग्रह गरे ।

यता विधायक जयसवालले भने, विद्युत वितरण केन्द्र परासीबाट ओमशान्ती टोलसम्म रामग्राम नगरपालिकाले नै आफै कुलो पुरि बाटो निकालेर बजेट समेत हालेको कुरा कसैले देखकोे छैन मैले कुलो पुरेर बाटो र नाला बनाउदा किन विवाद? भनि प्रश्न राखे । उनले भने जनप्रतिनिधि नआउदै नगरपालिकाले ७ लाख रुपैया हालेर कुलो पुरी बाटो निकाल्ने योजना बनाएको थियो तर कुलोको क्षेत्रफल विभिन्न विवादले छुट्टाउन नसकेपछि सो बजेट फ्रिज भएको थियो त्यहि काम म आफनै लगानीमा गरिरहेको छुँ भने यसमा के–को विवाद भनि प्रतिक्रिया दिए ।

यता वडा ३ को अध्यक्ष हरि प्रसाद उपाध्यायले भने, विधायक जयसवालले कुलो पुरेर बाटो निकाल्ने भनि केहि व्यक्तिहरुको हस्ताक्षर सहितको कागजात लिएर वडा आउँदा मैले पानीको निकास रोक्न पाईदैन भन्दै बाटो निकालेपनि पानी निकासका लागि दुबै साईडमा नाला बनाउनुहोस भनि सहमति गराएर पठाएको जानकारी दिए ।

कुलो पुर्ने कार्य रोक्ने ठाउँमा अध्यक्ष उपाध्यायले उल्टै कुलो पुर्ने ईजाजत दिने कुराको बजारमा झनै चर्काे आलोचना भैरहेको छ । कुलो पुरेर बाटो निकाल्न हस्ताक्षर गराइएको व्यक्तिहरु मध्ये केहि व्यक्तिहरु सिंचाईको कुरा लिएर असन्तुष्ट नै देखिएका छन् । यस विषयमा रामग्राम नगरपालिकामा कुनै प्रकारको गुनासो तथा निवेदन नआएकोले यस विषयमा रामग्राम नगरपालिका अनविज्ञ रहेको र तत्काल यसलाई अनुगमन गरि गलत कार्य गर्नेलाई कार्वाही समेत गर्ने नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रतिक्रिया दिए ।

बिधायक जयसवालले कुलो पुरेर बाटो निर्माण गर्ने कार्य तिब्र गतिमा गरिरहेका थिए कि अनुगमनमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, राप्रपाका नगर सभापति रामभवन यादव, राप्रपाका जिल्ला सदस्य नरेश चौधरी, नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य अमिरुल्लाह मिँया, नेपाली कांग्रेसका प्रतिनिधि एवं समाजसेवी संजय यादव, नेकपाका प्रतिनिधि जनार्दन कुर्मी, युवा समाजसेवी मुन्नलाल गुप्ता लगायतले उक्त निर्माण काम रोकाए थिए ।

यस्तो सार्वजनिक तथा सरकारी सम्पत्तिलाई संरक्षण गर्नु पर्ने ऐन मिचिएर केहि व्यक्तिहरुको व्यक्तिगत फाईदाका लागि कुलो–नाला अतिक्रमण गर्ने देखि पुरेर बाटो निकाल्ने समेतका कार्यमा प्रदेश सांसद, नगरपालिका तथा गाउँपालिका प्रमुख–उप प्रमुख र वडा अध्यक्ष, सदस्यहरु समेत संलग्नता पाइएको छ ।

सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति तालतलैया, पोखरी, ईनार कुलो नालालाई संरक्षण गर्नु पर्ने ऐन रहेपनि केहि व्यक्तिहरुको व्यक्तिगत फाईदाका लागि जनप्रतिनिधिहरुको मिलोमतोमा धमाधम ऐन मिचिने कार्य भैरहेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य अमिरुल्लाह मिँयाले आरोप लगाए ।

यस्तै वडा १ का अध्यक्ष रुद्र प्रकाश उपाध्यायले पनि केहि व्यक्तिहरुको फाईदाका लागि वडा १ मा सहुवा टिकर गाउँदेखि परासी–सुनवल सडकमा बाटो जोडन कृषि प्रयोजमा रहेको करिब २ किलोमिटर दुरीसम्मको कुलो पुरी बाटो निकालेका छन् । त्यस्तै वडा नम्ब १०मा पनि केहि व्यक्तिहरुको फाईदाका लागि कुलो पुरेर बाटो निकालिएको छ । नगरपालिका भित्र रहेको विभिन्न क्षेत्रका कुलो कतै भु–माफियाहरुले पुरेर जग्गा प्लटिङ्ग गरेका छन् भने कतै कम्पनीहरुले कुलो नै मिचेर कम्पनी निर्माण गरेका छन् तर यस तर्फ नत्र नगरपालिकाको ध्यान पुगेको छ नत्र जिल्ला प्रशासन र सम्बन्धित निकायको ध्यान पुग्न सकेको छ ।

त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा पनि पोखरी पुरेर गाउँपालिकाको भवन बनाउन लागिएको छ यता सरवालमा पनि पोखरी पुरेर सवारी पार्किङ्ग र केहि भौतिक संरचना बनाउने योजना गरिएको स्थानिय बताउछन् ।

यसरी सार्वजनिक सम्पत्तीको रुपमा रहेको कुलो–नाला र पोखरीहरु धमाधम पुरेर बाटो एवं भौतिक संरचनाहरु बनाउने कार्य भैरहेको छ । व्यक्तिगत फाईदाका लागि जनप्रतिनिधि र भु–माफियाहरु यसरी सार्वजनिक सम्पत्तीहरु नासेर किसानहरुलाई सिंचाईको समस्यामा धकेलिरहेको किसानहरुले आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here