काठमाडाै, २६ मंसिर । जाडो महिनामा बालबालिकाहरुलाई राम्रो हेरविचार गरिएन भने उनीहरुमा रुघाखोकी, सिजनल फ्लु, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छ । त्यसैगरी, हातखुट्टा फुट्ने र छाला खस्रो हुने समस्या बढी मात्रामा देखिन्छ । यस्ता समस्या देखिनुको मुख्य कारण भनेको संक्रमण नै हो । यस्तो संक्रमणबाट जोगाउन सकिएन भने उनीहरुमा निमोनिया भइ मृत्यु हुने खतरा समेत हुन्छ । जाडोको समयमा बालबालिकामा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ ।
बालबालिकालाई तातो लुगा लगाइदिने तथा सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ । उनीहरुलाई चिसो मौसममा फल्ने सुन्तला, जुनार लगायतका फलफुल खान दिदैँनौ । तर, त्यस्ता फलफुल थोरै थोरै गरेर घाममा राखेर खुवाउँदा उनीहरुको छाला सुख्खा हुने समस्या आउँदैन । बालबालिकालाई लामो समयसम्म हिटर बालेर राख्नु हुँदैन ।
चिसोले विशेष गरेर नवजात शिशुलाई धेरै सताएको देखिन्छ । नवजात शिशुलाई न्यानो पारेर राख्नुपर्छ । तर न्यानो पारेर राख्ने भन्दैमा सिरकले पुरै नाक मुख ढाकेर गुम्स्याएर राख्ने गरेको पाइन्छ । त्यस्तो गर्नुहँुदैन । धेरैले बालबालिकालाई चिसो लाग्न नदिन कोठामा आगो बाल्ने, हिटर बाल्ने र झयाल ढोका पुरै बन्द गरेर हावा जाने ठाउँ नराखी गुम्स्याउने गर्दछन् । त्यसो गर्दा झन् गुम्सिएर स्वासप्रश्वास सम्बन्धी समस्या बढेर आउँछ ।
नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ । तर, कोठामा हावा आवतजावत गर्ने ठाउँ हुनुपर्छ । बालबालिकामा रुघा सर्ने जोखिम बढि हुन्छ । त्यसैले घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकाभन्दा टाढा बस्नु पर्दछ । जाडोमा बालबालिकामा रोग प्रतिरोध क्षमता कम हुन्छ । जाडोमा उनीहरुलाई भिटामीन डि को पनि कमि हुन्छ ।
कतिपय मानिसले घरभित्र हिटर बालेर बालकालिकालाई सेक्ने वा मालिस गर्ने गरेको पाइन्छ । तर त्यस्तो गर्नु हुँदैन ।घाममा राखेर मालिस गर्नुपर्छ । घरभित्र राखेर गर्नुहुदैन । अझ चिसो लाग्ने खतरा हुन्छ । बालबालिकालाई घाममा राख्दा पानी तथा कालो चिया खान दिनुपर्छ । बालबालिका वा नवजात शिशुलाई एउटै कपडा लामो समयसम्म लगाइदिने गर्नु हुँदैन । समय समयमा उनीहरुको कपडा फेरिदिनुपर्छ । जाडोमा पनि बालबालिकालाई सातामा एक पटक घाममा राखेर नुहाइदिनुपर्छ ।
बालबालिकाको हेरचाह
–विहान र वेलुकाको चिसो हावामा बालबालिकालाई घर बाहिर निस्कन नदिने
–घाममा राख्दा समय समयमा पानी खुवाउने ।
–कालो चिया दिने ।
–मालिस गर्दा घाममा राखेर मात्र गर्ने ।
–न्यानो कपडा लगाईदिने ।
–मौसमी फलफुल खुवाउने ।
–हिटर बालेर लामो समयसम्म नराख्ने ।
–झोलिलो खानेकुरा खुवाउने ।
– नवजात शिशुको कपडा समय समयमा फेर्ने ।
(बाल स्वास्थ्य नर्सिङ विशेषज्ञ सुवेदीसँग गरिएको कुराकानीमा आधारित) (बाह्रखरी)