परासी, २ मंसिर । अवैधानिक रुपमा गराउन लाागिएको नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको निर्वाचन स्थगित गर्न माग गर्दै संघमा तालाबन्दी गरिएको छ । संघको तदर्थ समितिका संयोजक सुबाष अग्रवालले आफनो मनोमानी ढंगबाट अवैधानिक रुपमा गराउन लागेको संघको निर्वाचनलाई स्थगित गराउन माग गर्दै दबाब मुलक संघर्ष समितिले संघमा तालाबन्दी गरेको हो ।
आईतबार विहान नेकपा, राजपा, फोरम नेपाल, राप्रपा सहित विभिन्न राजनितिक दल र नागरिक समाज तथा संघका आजिवन सदस्यहरुको भेलाबाट नेकपाका प्रतिनिधि रामकृपाल यादवको नेतृत्वमा ११ सदस्यीय गठित दबाब मुलक संघर्ष समितिले संघमा तालाबन्दी गर्दै निर्वाचनको सबै कागजातहरु जफत गरेको जनाएको छ ।
समितिका संयोजक यादवले भने, यस संघमा अवैधानिक रुपले रातारात थपिएका करिब साढे ५ सय नयाँ सदस्यता खारेज गर्न, संघका केहि आजिव सदस्यहरुको खारेज भएको सदस्यता फिर्ता लिन र १५ दिन पुर्व सुचना नदिई अप्रक्रियागत रुपमा चुनाव गराउन खोजिएकाले संघमा तालाबन्दी गरिएको बताए । समितिका सदस्य रामभवन यादवले भने, जबसम्म हाम्रो माग पुरा हुदैन तबसम्म तालापनि नखोल्ने बताए ।
समितिमा रामभवन यादव, विरेनद्र ठाकुर, विजय अग्रहरी, लक्ष्मी क्षेत्री, हरि भण्डारी, जितेन्द्र अग्रहरी, रमेश यादव, संजित ठाकुर, सुरेन्द्र यादव, दिपेन्द्र यादव सदस्य छन् । यता संघका निर्वाचन मण्डलले संघमा तालाबन्दी र निर्वाचनको सबै कागजात समितिको कैप्चरमा रहेकाले अर्काे सुचना जारी नहुँदा सम्मको लागि निर्वाचन स्थगित भएको जनाएको छ ।