परासी, २९ कार्तिक । रामग्राम नगरपालिकाका वडा अध्यक्षहरुले प्रशासनिक खर्च सार्वजनिक गर्न माग गरेपछि नगरपालिका प्रशासनमा खैलाबैला मचेको छ । रामग्राम नगरपालिकाका मेयर, उपमेयर, प्रशसान तथा लेखा शाखाको खर्च विवरण वार्ड अध्यक्षहरुले माग गरेपछि नगरपालिकाको प्रशासन भित्र खैलाबैला मचिएको हो ।
अघिल्लो आर्थिक बर्षमा जनप्रतिनिधिको काम कारवाही प्रति अविश्वास गर्दै उनीहरुले सिफारिस गरेका विकास योजनाका फाईलमा विभिन्न बखेडा झिक्ने रामग्राम नगरपालिका प्रशासनले प्रशासनिक खर्च कसरी गरेको छ,भन्दै जनप्रतिनिधिले समिक्षा गर्न माग गरेका हुन् ।
अप्रत्याशित रुपमा इन्धन खर्च देखिए पछि वार्ड अध्यक्षहरुले मेयर,उपमेयर,प्रशासकिय अधिकृत,लेखा अधिकृत र योजना शाखाले के कति मात्रामा इन्धन खर्च गरेको हो ? त्यसको लगत विवरण पेश गरेर समिक्षा गर्न माग गरिएको बताएका छन् । नगरपालिकाको सरकारी गाडीमा रातो नम्बर प्लेट लगाएर दिन रात गाडीको दुरुपयोग गर्ने मेयर नरेन्द्र कुमार गुप्ता सहित नगरपालिका प्रशासन तथा लेखाका कर्मचारीले प्रशासनिक खर्च कसरी गरेका हुन्,त्यसको माग बैठकमा उठेको नगरपालिकाकी उपमेयर रम्भा कुवँरले बताईन् ।
वार्ड अध्यक्षहरुले उठाएको माग जायज नै रहेको र त्यसको विवरण सार्वजनिक गरेर नगरपालिका प्रशासनले सन्तुष्ट पार्नु पर्ने उनले बताईन् । विगत भन्दा अलि बढि प्रशासनिक खर्च तथा इन्धन खर्च भएको कुराले कहि त्यसको दुरुपयोग बढेर भएको हो ? कि त्यसले गर्दा नगरपालिका प्रशासनले सो विवरण पेश गर्नु पर्छ, उनले भनिन,वार्ड अध्यक्षहरु पनि नगरपालिका परिवार भन्दा बाहिरका सदस्य होईनन्,प्रशासनिक खर्च वार्ड अध्यक्षहरुलाई देखाउदैमा केही कुरा विग्रने होईन । बरु त्यसले एक आपसमा अविश्वासको वातावरणलाई घटाएर सहज बनाउछ ।
त्यसलाई अन्यथा लिन नहुने उनको भनाई थियो । नगरपालिका भित्र अविश्वासको वातावरण बनेको बाहिरी ब्यतिmले पनि महशुस गर्न थालेका छन् । त्यसलाई किनारा लगाउनु पर्छ,उपमेयर कुवँरले भनिन्,नगरपालिका प्रशासन,नगरपालिका बोर्ड र नेतृत्वबाट कार्य विभाजन गरेर अगाडी बढनु पर्छ । जनताका विच सबै जनप्रतिनिधिले विभिन्न बाँचा गरेर काम गर्न आएका छन् ।
यदि आपसमा अविश्वास बनि रह्यो भन्ने जनताको काम हुदैन्,त्यसले सम्पुर्ण नगरबासीलाई असर पर्छ । अन्य छिमेकी नगरपालिकाले धमाधम काम गरेका छन्,तर रामग्राममा आन्तरिक अविश्वासका कारण काम गराईमा असर परेको अनुभुत हुन थालेको छ । मेयर गुप्ताले असोज भित्रै जनताले कर वृद्धि विरुद्ध उठाएको आवाज असोज महिना भित्रै सम्बोधन गरि कर घटाउने प्रतिवद्धता जनाएका थिए । तर आन्तरिक द्धन्द्धका कारण कातिक महिना सकिन लाग्दा पनि नगरसभा बस्न सकेको छैन् । यसले मेयर गुप्तालाई झुठ्ठा सावित गर्न थालेको छ ।
त्यसै गरि नगरभित्रका शाखाहरु सक्रिय हुन सकेका छैनन् । विभिन्न विषयगत समितिल काम गर्न सकेको छैन् । विकास निर्माणका योजना कसरी सचालन गर्ने बारे पनि निक्र्यौल हुन सकेको छैन् । वार्ड कार्यालयहरुले सक्रिय रुपमा काम गर्न सकेका छैनन् । त्यस प्रति सबै गम्भिर बन्नु पर्ने उपमेयर कुवँरको भनाई थियो ।
पहिलो बैठकमा वार्ड अध्यक्षहरुले प्रशासनिक खर्चमा केही अनियमितता भएको आशंका गर्दै बैठकमा कुरा उठाएका थिए । तर सो बैठकमा प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पंत अनुपस्थित भएका कारण बैठक निष्कर्षमा पुग्न सकेन् । बैठक नै स्थगित भएको थियो । अधिकाँश वार्ड अध्यक्षहरुले मेयर र प्रशासकिय अधिकृतको खर्च सार्वजनिक नभएसम्म काम अगाडी बढाउन नदिइने अडान लिएका कारण नगरपालिकाको आन्तरिक प्रशासनमा समस्या देखिएको छ ।