पाँच महिनामा लागु औषधका ७० मुद्धा, ९८ जना पक्राउ

0
177

वीरगञ्ज, १३ कात्तिक । कात्तिक १२ गते बिहान जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जले दुई जना युवकलाई लागु औषधसहित पक्राउ गर्‍यो ।

काभ्रे भुकण्डेबेशीका २६ वर्षका बुद्ध लामा र पाँचथर फिदिम नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका १५ बस्ने २८ वर्षका कुमार बुढाथोकी पक्राउ परे ।

वीरगञ्जको रजतजयन्ती चोकमा सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले लागु औषध ईन्जेक्सन डाईजेल्याव, फेनारगन र नुफिर्न १००/१०० वटा गरी ३ सय वटा फेला पारेको थियो ।

भारत रक्सौल लगायतका बजारमा सजिलै पाइने लागु औषध किन्नका लागि देशभरबाट मानिसहरु आउने गरेको प्रहरीको भनाइ छ । नेपालमा प्रतिबन्धित लागु औषध बोकेर आएको फेला परेको खण्डमा प्रहरीले पक्राउ गरी लागु औषध मुद्धा दर्ता गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आउने मुद्धाको ६०-७० प्रतिशत हिस्सा लागु औषधकै हुने गरेको प्रवक्ता एवं डिएसपी मान बहादुर राई बताउँछन् । ‘जेठदेखि असोजसम्म १ सय १६ वटा जघन्य अपराधका मुद्धा दर्ता भएका छन् ।’ उनले भने ‘त्यसमा ७० वटा त लागु औषधकै देखिन्छ । पर्सा जिल्लामा लागु औषधको मुद्धाको चाप बढी छ ।’

दैनिकजसो प्रहरीले लागु औषध सहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जेठदेखि असोजसम्मको पाँच महिनामा ६० वटा लागु औषधका मुद्धा दर्ता भइसकेको छ ।

लागु औषध ओसार प्रसारमा संलग्न ९८ जना मानिसहरु पक्राउ परिसकेका छन् । गाजा, चरेस, खैरो हिरोइनजस्ता लागु औषध नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ भने ट्याब्लेट इन्जेक्सनको रुपमा आउने लागु औषध भारतबाट ल्याउने गरिन्छ ।

पाँच महिनामा गाजा १ सय २८ किलो ६ सय २२ ग्राम, चरेस ३५ किलो ३५ ग्राम, खैरो हिरोइन १ किलो ७५० ग्राम, नुफिर्न २ हजार २७ वटा, डाइजीपाम २ हजार २७ वटा, फेनारगन १ हजार ६ सय ३९ वटा, निट्रभेट ट्याबलेट २ हजार ७ सय १६ वटा, स्पास्मोप्रोक्सिभन २४ वटा र वीनसिरेक्स ५५ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here