♦जितेन्द्र गुप्ता –
महेसपुर, १२ कार्तिक । नवलपरासीको सिमा क्षेत्रमा भैरहेका चोरी तस्करी रोक्न शसस्त्र प्रहरी बलले कडा निगरानी बढाएको छ । दिउँसो तथा रातीको समयमा स्थानिय तस्करहरु विभिन्न सर–समानको नेपाल–भारत तस्करी गरिरहेको जन गुनासो बढेपछि शसस्त्र प्रहरीले उक्त चोरी तस्करी रोक्न विभिन्न संयन्त्र अपनाउदै सिमामा निगरानी बढाएको हो ।
सिमामा भैरहने चोरी तस्करी तथा अपराधिक क्रियाक्लाप नियन्त्रण गर्न र सुरक्षा प्रदान गर्दे उद्देश्यले शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर २६ नं. गण बेलासपुर पश्चिमी नवलपरासीले सिमा लन्ग रुट पेट्रोलिङ्ग (एलआरपी) अपरेशन संचानलन गरेको छ ।
सो अन्तर्गत सिमा क्षेत्रमा सादा पोषाकका सुरक्षा कर्मी तथा प्रहरीको बोईल गस्तीहरु परिचालन गरि नाकामा स्टेण्डबाई डयुटी खटाई सिमामा चोरी तस्करी एवं अपराधिक क्रिया क्लाप रोक्न र स्थानियलाई सुरक्षा प्रदान गर्न सो अपरेशन संचालन गरिएको गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राईले जनकारी दिए ।
शसस्त्र प्रहरी उपरिक्षक राईका अनुसार करिब २८ किलोमिटर दुरीमा रहेको खुल्ला सिमामा गस्ती गर्ने क्रममा जिल्लाको विभिन्न ठाउँबाट २ लाख ४६ हजार ७०२ रुपैया बराबरको विभिन्न माल–समान बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको बताए ।
शसस्त्र प्रहरी उपरिक्षक राईको निर्देशनमा यहि कार्तिक ९ गते शुक्रबारका दिन पाल्हीनन्दन गाउँपालिका ५ विष्णुपुरामा सहायक प्रहरी निरिक्षक दिप कुमार सहानीको नेतृत्वमा खटिएको गस्ती टोलीले ७२ हजार ७७० रुपैया बराबरको विभिन्न सर–समान बरामद गरेको छ । बरामद समानमा कपडालत्ता, हार्डवेयर, खाद्यान्न सामाग्री, जुत्ता चप्प्ल र बच्चाहरुले खेल्ने खलौना रहेको गणले जनाएको छ ।
त्यस्तै सोही दिन शसस्त्र प्रहरी सहायक निरिक्षक गुलाब प्रसाद चाईको नेतृत्वमा खटेको गस्ती टोलीले पाल्हीनन्दन गाउँपालिका १ रम्पुरवाँबाट ७१ हजार ३५० रुपैयाको कपडालत्ता, भाँडाकुडा र गाडीको मोटरपार्टहरु बरामद गरेको छ । त्यसैबिच अर्काे गस्ती टोलीले पाल्हीनन्दन ६ सनईबाट ७ हजार ८ सयको २६ वटा अवैध कुखुरा बरामद गरि नष्ट गरेको जनाएको छ ।
यता शसस्त्र प्रहरी बल विओपी हरपुरका शसस्त्र प्रहरी निरिक्षक राजकुमार अधिकारीको निर्देशनमा खटिएको प्रहरी गस्ती टोलीले आईतबार विहान पाल्हीनन्दन २ गोपालपुरबाट १ लाख ४ हजार ८ सय रुपैया बराबरको कपडा लत्ता बरामद गरेको जनाएको छ ।
यसरी विभिन्न मिति र फरक–फरक ठाउँबाट बरामद ति सबै माल–समान, तस्करहरु भन्सार छली भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरिएको नवलपरासी गणले जनाएको छ । बरामद ति मालसमान आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको छ ।
यसरी सिमा क्षेत्रमा शसस्त्र प्रहरीको कडा निगरानीले तस्करहरुमा खैलाबैला मचेको छ । लामो समयदेखि पाल्हीनन्दन गाउँपालिकाको विषुनपुरा, गोपालपुर, भुजहवाँ, महेसपुर, प्रतापपुर गाउँपालिकाको बसैया, झुल्नीपुर, सुस्ता गाउँपालिकाको सुस्ता, पह्लिहवाँ लगायतका नाकाबाट विभिन्न सर–समानको चोरी तस्करी हुदै आएको थियो तर प्रहरीको सक्रियताले यतिबेला तस्करहरुमा भागमभाग मचेको स्थानियले बताएका छन् ।