परासी, १० कार्तिक । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा ६ ले किसानहरुलाई व्यवसायिक तरकारी खेती तालिम प्रदान गर्दै विउबिजन वितरण गरेको छ ।
गाउँपालिकाको वडा ६ ले करेसाबारीलाई केन्द्रित गर्दै किसानहरुलाई व्यवसायिक तरकारी खेती तर्फ आकर्षित गर्न तालिम प्रदान गर्दै तरकारीको बिउबिजन वितरण गरेको हो ।
गाउँपालिका वडा ६ ले आफनो वडाका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले करेसाबारी सम्बन्धित तालिम संचालन गरि निशुल्क विउबिजन वितरण गरिरहेको वडा अध्यक्ष कृषचन्द्र यादवले बताए ।
वडा अध्यक्ष कृषचन्द्र यादवको अध्यक्षतामा भएको शनिवार करेसाबारी तालिम तथा तरकारीको विउ वितरण कार्यक्रममा गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले १ सय ४० जना कृषकहरुलाई साग, रायो, गाजर, सेमी, मटर, मसुरो सहित विभिन्न तरकारीको विउ विरतण गरेका हुन् ।
वार्डले आफनो क्षेत्रका विभिन्न टोल–टोलका किसानहरुलाई सो तालिम प्रदान गर्दै ३ दिनदेखि सो विउविजनहरु वितरण गर्दै आएको अध्यक्ष यादवले बताए । उनले भने, यो तालिम वार्डका पुरै गाउँ–टोलका किसानहरुलाई प्रदान गरि विउ वितरण गरिने बताए । तालिममा कृषि शाखाका स्टाफ अमिन चौधरी, मनोज सहानी, विसुनाथ यादव, वडा सचिव सम्भु सहानी लगायतको उपस्थिती रहेको थियो ।