बिराटनगर, ९ कातिक। प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सञ्चालित लाइफ गार्ड र गोल्डेन अस्पतालले इमर्जेन्सी र आईसीयूका बिरामीलाई म्याद गुज्रेका औषधि दिने गरेको भेटिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा दुई अस्पतालले आउट डेटेड औषधि प्रयोग गरेको पाइएको हो ।
दाहालका अनुसार अनुगमन टोलीले लाइफगार्डमा एनआईसीयुमा प्रयोग हुने एमिनोफोलिन र आईसीयूमा प्रयोग हुने एक्टाक्युरियम ब्इसलेट इञ्जेक्शन म्याद नाघेको भेटेको थियो । त्यस्तै गोल्डेनको इमर्जेन्सीमा म्याद गुज्रेको नेओन कम्पनीको औषधि प्रयोग भएको पाइएको थियो ।
अनुगमन टोलीले म्याद नाघेको औषधि प्रयोग गरेर जनस्वास्थ्यमाथि गम्भिर खेलबाड गरेका अस्पताललाई कारबाही गर्नुपर्ने भए पनि त्यसो गरेको छैन । म्याद नाघेका औषधि बिसर्जन गर्न मात्र निर्देशन दिएको छ ।
फोहोर व्यवस्थापनमा लापरवाही
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका–२०७० ले अस्पतालबाट निस्किने फोहोर आफैं व्यवस्थापन गर्न भनिए पनि विराटनगरमा सञ्चालित अस्पतालहरुले महानगरको डम्पिङ साइटमा फोहोर फाल्ने गरेको पाइएको छ ।
कुहिने–नकुहिने सबै फोहोर महानगरको फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट म्यानेजमेन्ट गु्रपमार्फत् डम्पिङ साइटमा फाल्दै आएको हो । निर्देशिकामा जोखिमपूर्ण फोहर व्यवस्थापनका लागि उपयुक्त प्रविधिको व्यवस्था गर्नुपर्ने उल्लेख भए पनि यहाँका अस्पतालले अटेरी गर्दै डम्पिङ साइटमा फालेका हुन् ।
बिहीबार मन्त्रालयको टोलीले गोल्डेन, न्यूरो, लाइफ गार्ड अस्पताल र सप्तकोशी नर्सिङहोममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फोहोर मैला व्यवस्थापनमा यी अस्पतालले नियम पालना नगरेको पाइएको निमित्त सचिव दाहालले जानकारी दिए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले विराटनगरका अस्पतालले फोहोर मैला व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । (अनलाइन खबर)