नवलपुरमा जिल्ला कारागार नहुँदा कैदीबन्दीलाई छिमेकी जिल्ला पठाउदै

0
261

नवलपुर, ८ कार्तिक । नवलपुरमा जिल्ला कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनु पर्ने बाध्यता रहेको छ ।

नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्व एक वर्षअघि स्थापना भएको हो । तर, यहाँ कारागार नहुँदा कैदीबन्दीलाई चितवन र नवलपरासी पश्चिमको परासी स्थित कारागारमा पठाउने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकृत लीलाराज लामिछानेका अनुसार नवलपुरका अधिकांश कैदीबन्दी चितवन कारागार पठाउने गरिएको छ । नवलपुरबाट अहिले ७५ जना कैदीबन्दीलाई चितवन र परासीको कारगार पठाइएको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए ।

जिल्लामा नै कारागार नहँुदा कार्यालयलाई आर्थिक भार थपिएको लामिछानेले बताए । ‘जिल्लामै कारागार भएमा कैदीबन्दीलाई ल्याउने लैजाने खर्चको कटौती हुनेथियो भने समय र जनशक्तिको पनी बचत हुनेथियो ।’ लामिछानेले भने ।

जिल्लामा कारागार निर्माण गर्ने बारेमा सम्बन्धित पक्षसँग छलफल र पहल गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी रमेश थापाले बताए । नयाँ जिल्ला भएकाले सबै संरचना नया निर्माण गर्नुपर्ने हुँदा केही अप्ठेरो परेको थापाको भनाइ छ ।

स्थानीय तह तथा केन्द्रका सरोकारवाला पक्षसँग कारागार निर्माणका लागि पहल गरेको थापाले बताए । बाल सुधार गृहमा राख्नुपर्ने बालबालिकालाई पोखरा पठाउँदै आएकोमा पोखरामा क्षमताभन्दा बढी भएकाले नपठाउन भनेपछि अहिले रुपन्देहीको बाल सुधार गृहमा पठाउने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा पनि क्षमता भन्दा बढी थुनुवा रहेका छन । १० जना महिला र १० जना पुरुष राख्ने क्षमता रहे पनि अहिले हिरासतमा ३५ जना पुरुष रहेको सूचना अधिकृत लामिछानेले जानकारी दिए ।

महिला थुनुवा अहिले नभएकाले दुवै कोठामा पुरुषलाई नै राखिएको छ । क्षमताभन्दा बढी थुनुवा भएपछि अहिले नजिकैको इलाका प्रहरी कार्यालय रजहर, गैडाकोट, दुम्कीबासमा पठाउने गरिएको छ । (साभारः नारायणी अनलाइन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here