हिन्दु समुदायकाे महान पर्व बडादशैं सुरु

0
294

नवलपुर,२४ असाेज । आजदेखि नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ ।

यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको उनले बताए ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको गौतमले बताए ।आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत आज बिहान ७ बजेर १५ मिनेटमा छ। साइत हेर्नेहरूका लागि यो समय दिइए पनि सामान्यतया बिहानीपख जुनसुकै समयमा घटस्थापना गर्न सकिन्छ। प्रतिपदादेखि नवमीको रातसम्म विशेषगरी राति देवीको आराधना गरिने भएकाले यो अवधिलाई ‘नवरात्र’ पनि भनिन्छ। वर्षका चारमध्ये शरद ऋतुमा पर्ने नवरात्रको विशेष महत्त्व पुराणमा बताइएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ।  नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको आराधना गरिन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीलाई क्रमशः पुजिन्छ।

दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here