आईजीपी हटाउने खेल, सत्तापक्षकै सांसद् भन्छन्–माग जायज छ

0
305

काठमाडौं, १९ असाेज । सत्तारुढ दलकै शक्तिशाली विद्यार्थी भ्रातृ संगठनका तर्फबाट प्रहरी प्रमुखको राजीनामा माग गरिएपछि अहिले मुलुकमा नै नयाँ तरङ्ग उत्पन्न भएको छ ।  सत्तापक्षकै सांसद त्यसमा पनि प्रधानमन्त्री निकट मानिएकै सांसदको नेतृत्वमा पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी प्रमुख बर्खास्तगीको माग गरिएको छ ।

भक्तपुरमा भएको गलत ‘इन्काउन्टर’, कञ्चनपुर घटनामा प्रहरीले दिएको गलत रिपोर्टलगायतमा प्रहरी नेतृत्वको कमजोरी देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभाबाट फर्किएकै दिनमा प्रहरी प्रमुख हटाउन माग गर्दै सांसद समेत रहेकी नविना लामाको नेतृत्वमा पुगेका विद्यार्थीले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका छन् ।

यतिबेला एकाएक प्रहरी महानिरीक्षक बर्खास्तगीको माग कसरी भयो ? भन्ने प्रश्नमा सांसद लामाले बाह्रखरीसँग कुरा गर्दै भनिन्, “निर्मला पन्तको बलात्कारपछि हत्या भएको यति लामो समय भइसक्दा पनि हत्यारालाई कारवाही हुन नसक्नुले गर्दा सबैले पहिलादेखि नै प्रहरी नेतृत्वको असक्षमता महसुस गरिरहेको अवस्था थियो । त्यसैले संगठनका तर्फबाट हामीले आईजीपीलाई बर्खास्त गर्न माग गरेका हौं । हाम्रो माग जायज छ ।”

उनले पार्टीका नेताहरुसँग यसविषयमा कुनै छलफल नभएको दाबी गर्दै संगठनकै तर्फबाट यसो गरिएको बताइन् । “यो संगठनकै तर्फबाट भएको हो । हामीले संगठनमा छलफल गरेका छौं । पार्टीको कुनै नेतासँग छलफल गरेका छैनौं । कसैले केही भनेको पनि छैन,” उनले भनिन् ।

उनले आफूले राखेको मागमा दृढ रहेको जनाउँदै भनिन्,‘‘कुनै पनि नेताहरुले किन गर्नुभएको भनेर पनि अहिलेसम्म सोध्नुभएको छैन ।’’ ‘‘निर्मला पन्तको हत्याको विषय यति लामो समयसम्म अल्झिदापनि प्रहरी प्रमुखले केही गर्न नसकेपछि समग्र देशले नै आईजीपीकै गल्ती महसुस गरेको छ । अनेकथरी शंकास्पद घटना भएका छन,’’ सांसद लामाले भनिन्,‘‘त्यसैले हामीले प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छौं ।’’

उनका अनुसार गृहमन्त्रीले ‘स्पेसिफिक’ रुपमा भने आईजीपीलाई बर्खास्त गर्ने बारेमा केही पनि बताएनन् । तर, प्रतिवेदन सार्वजनिक गर्ने मागका बारेमा भने मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेर सार्वजनिक गर्ने जवाफ  दिएका थिए ।  अनेरास्ववियुभित्रै छलफल नै नगरी एक्कासी यस्तो ज्ञापन पत्र दिएको गुनासो भने आइसकेको छ ।

तर यसबारेमा लामाले भनिन्,‘‘अध्यक्ष नै गएर गरेको काम संगठनले नै गरेको हुन्छ । हामीले साथीहरुसँग छलफल गरेर नै ज्ञापनपत्र बुझाएका हौं । एक दुई जना साथीले के भने भन्ने कुराको कुनै अर्थ छैन ।’’

तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष क्रमश ः सांसद लामा र रञ्जित तामाङसहितको टोलीले विहीबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर पहिलो नम्बरमा आईजीपीलाई बर्खास्त गर्नुपर्नेसहितका अन्य जनसरोकारका ७ बुँदे माग राखेको थियो ।

सांसद लामाले भनिन्,‘‘देश र जनताको लागि अनेरास्ववियु सधैं प्रतिपक्षीय भूमिकामा रहेको छ ।  देशको शान्ति सुरक्षाको अवस्थामा सुधार नभएकोले सरकारलाई नै मद्दत पुगोस् भनेर हामीले राजीनामाको माग गरेका हौं ।’’ लामाले भनिन्,“एउटा कर्मचारीका कारण शान्ति सुव्यवस्था हुन सकेन भने त्यसले पार्टीभित्र कुनै विवाद उत्पन्न गराउने भन्ने कुरै हुँदैन ।”
यस्ता छन् गृहमन्त्रीसमक्ष राखिएका माग

(साभारः बाह्रखरी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here