परासी, १८ असोज । बजारका छाडा पशुचौपाया व्यवस्थापनका लागि नवलपरासीमा गौशाला संचालन गरिएको छ । जिल्लाको विभिन्न स्थानिय तहका बजारहरुमा घुमीरहेको छाडा पशु चौपायाहरुलाई व्यवस्थापनका लागि रामग्राम नगरपालिका ८ मा शारदा गौशाला संचालन गरि विहिवार औपचारिक उद्दघाटन गरिएको हो ।
नगरपालिकाको ८ नम्बर वडाका अध्यक्ष महेन्द्र ठाकुरको प्रयासमा संचालनमा ल्याइएको शारदा गौशालामा विहिवार १० वटा छाडा पशु राखी विश्व प्राणी दिवसको अवसर पारेर एक औपचारिक कार्यक्रम विच गौशाला उदघाटन गरिएको हो । भंैसी हाटबजार संग टासिएको करिब डेढ विगाहा सार्वजनिक जग्गामा २ लाख लाख रुपैया खर्च गरि तारबार गरिएको छ ।
उक्त गौशालामा गाईबस्तुका लागि टहरा, खान पिउनका लागि व्यस्थित नादा बनाईने छ भने सो क्षेत्रफमा घाँसको खेती समेत गरिने बताइएको छ । गाई बस्तुको गोबरबाट ग्यास निकाल्ने, र कम्पोष्ट मल समेत तयार गरि बेचेर गौशाला संचालनमा खर्च गरिने वार्ड अध्यक्ष ठाकुरले बताए ।
छाडा गाई गोरुले बजार अस्तब्यवस्त बनेको महशुस गरेर गौशाला संचालनमा ल्याएको जनाउदै ठाकुरले गौशालाले छाडा पशु मात्र नभई गाँउ घरमा पनि वेवारिसे र पाल्न नसकिएका गाई गोरुलाई पनि गौशालामा राखेर संरक्षण गरिने योजना रहेको जनाए ।
गौशाला उदघाटन गर्दै नगरपालिकाका निमित्त प्रमुख समेत रहेकी उपमेयर रम्भा कुवँरले पश्चिम नवलपरासीको कुनै पनि स्थानिय तहमा गौशाला नभएको अवस्थामा अहिले हाम्रो नगरपालिकामा गौशाला सञ्चालन गर्न सक्दा गौरवको कुरा भएको बताईन् ।
कार्य प्रारम्भ वार्ड नं.८ बाट भए पनि यसको स्वामित्व अब नगरपालिकाले नै लिएर सञ्चालन ब्यवस्थापनमा सघाउने प्रतिवद्धता समेत जनाएकी थिईन् । बजार भरी छाडा पशुले दुर्घटना निम्त्याउने, शहर बजार फोहर बनाउने, स्थानियको बाली नाली चरिदिइने जस्ता समस्यालाई समेत यो गौशालाले न्युनिकरण गर्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।
उदघाटन समारोहमा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख राममिलन विश्वकर्माले छाडा पशु छाड्दा समस्या देखिएको तर अहिले तिनै छाडा पशु ब्यवस्थापनका लागि खुलेको गौशालाले ति समस्यालाई अवसरमा बदल्ने योजना ल्याएको उनले औल्याए । छाडा पशु समस्या हुन्, उनले भने, तर तिनै पशुलाई एक स्थानमा यो गौशालामा राखिए पछि त्यसबाट लाभ समेत उठान सकिन्छ ।
गाई गोरुको मलमुत्र संकलन गरेर त्यसबाट नगद आर्जन गर्न सकिन्छ । गोमुत्र मात्र संगलन गरे औषधीय गुण भएको ति गो मुत्रलाई बालीनालीमा जैविक विषादी र मलमा प्रयोग गर्न सकिन्छ । गो मुत्रलाई पानीमा मिसाएर स्प्रे गरे युरियाको प्रयोग बाली नालीमा गर्न पर्र्दैन् ।
गोबरलाई गोबर ग्यास प्लान्टमा हालेर बैकल्पिक उर्जामा प्रयोग गर्ने, बचेको गोबरलाइै पनि जैविक मलको रुपमा उपयोग गर्न मिल्छ । वृद्ध हुदै गाई गोरुको मृत्यु पश्चात त्यसलाई एकै स्थानमा ब्यवस्थापन गर्न सके गिद्ध,चिल जस्ता माँसाहारी पंक्षि खाने हुदा तिनीहरुको पनि संरक्षण हुने हुदा यसले इकोसिस्टममा सहयोग पुर्याउने उनको भनाई थियो ।
कार्यक्रममा रामग्राम नगरपालिका वार्ड १ का अध्यक्ष रुद्र प्रसाद उपाध्याय, वार्ड नं.२ का वार्ड अध्यक्ष चन्द्रिका अग्रहरी, वार्ड ३ का अध्यक्ष हरि प्रसाद उपाध्याय, वार्ड ९ का अध्यक्ष सुनिल पाठक, वार्ड १२ का अध्यक्ष भगवन्तलाल गुप्ता, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य बेचु गौड, नेपाल रेडक्रम सोसाईटीका जिल्ला संयोजक राजेन्द्र अग्रहरीले, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले, गौशालालाई मिलेर सहयोग गर्ने बताए ।