परासी, १२ असाेज । भुक्तानी नपाएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानले शुक्रबार आन्दोलन स्थगित गरेका छन् । प्रशासनले एक समिति बनाएर भुक्तानी दिलाउने प्रतिबद्धता जनाएपछि उनीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् । एक वर्षअघिको रकम समेत उद्योगीहरुले अहिलेसम्म भुक्तानी नगरेपछि उनीहरु उखु उत्पादक कृषक समितिको आह्वानमा उखु बोकेरै सडकमा उत्रिएका थिए ।
आन्दोलनको क्रममा बर्दघाटको टिसिएन चोकमा बसेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका किसानलाई प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने आन्दोलन स्थलमै गएर दशैंअघि भुक्तानी दिलाउने प्रतिबद्धता जनाएका थिए ।
यहाँका १२ हजार उखु किसानलाई जिल्लाका तीन उद्योगले ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जिल्लाका चिनी उद्योगमध्ये सबैभन्दा बढी बाग्मतीले २७ करोड, इन्दिराले १७ करोड र लुम्बिनीले एक करोड रुपैयाँ तिर्न बाँकी छ । चिनी उद्योगहरुले मंसिर महिनादेखि क्रसिङ सुरु गर्छन् । तर अघिल्लो वर्षकै रकम किसानले पाएका छनैनन्।(साभारः अन्नपुर्णपाेषट)