नवलपुर,११ असाेज । गैँडोकोट नगरपालिका–१३ मा रहेको अविनाश ह्याचरीबाट फैलिएको दुर्गन्धले स्थानीयबासी आक्रोशित बनेका छन् ।अबिनास ह्याचरीलाई दुर्गन्ध नियन्त्रण गर्नका लागि विगत चार वर्षदेखि अनुरोध गर्दा बारम्बार बेवास्ता गरेको र अझै बढी दुर्गन्ध फैलिँदै गएपछि स्थानीय आक्रोशित भएका हुन् ।
गैँडाकोट नगरपालिका–१६का वडा अध्यक्ष गोवद्र्धन ज्ञवालीका अनुसार गैँडाकोट नगरपालिकाका मेयर र उपमेयरसहितको बैँठकमा ह्याचरी सञ्चालकले एक महिनाभित्र पूर्णरुपमा फोहोर मैला र दुर्गन्ध पूर्णरुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, दुर्गन्ध हटाउने प्रतिबद्धता पूरा नभएको स्थानीय राजन कँडेलले बताए । वडा अध्यक्ष ज्ञवालीले ह्याचरीबाट फैलिएको दुर्गन्धले घरमा बसिनसक्नु नभएको गुनासो गरेका छन् । दुर्गन्धले धर्मभक्त चोक र अमर ज्योति चोकका सयौं घरहरु प्रभावित हुँदै आएको वडा नम्बर १७ का वडा अध्यक्ष रत्नबहादुर खड्काले बताए ।
ह्याचरीका प्रवन्धक मुरारी कोइरालाले गैँडाकोटका स्थानीयले किन यस्तो भनिरहेका छन् केही बुझ्न नसकेको बताए । उनले ह्याचरीमा कुखुराको सुली केही पनि यतिबेला नरहेको बताए ।
उनले एक महिनाअघि गैँडाकोट नगरपालिकासँग छलफल भएको र दुर्गन्ध नआउने मेसिन जडानको कार्य चलिरहेको जानकारी दिए । अलीअली गन्ध आए पनि स्थानीयले हल्ला गरे जस्तो गन्ध नभएको दाबी गरे । उनले स्थानीयले ह्याचरीमा ताला लगाउँछौं भनेर धम्की दिने गरेको पनि बताए ।