उखुको भुक्तानी नपाएपछि किसानहरु राजमार्ग अवरोध गर्न हाईवेमा उत्रिने

0
364


परासी, ११ असोज । उखुको भुक्तानी नपाएपछि उखु किसानहरु सरकारलाई दबाब दिन राजमार्ग अवरोध गर्ने योजना बनाएका छन् । उखु मिलहरुले किसानहरुलाई भुक्तान गर्न आलटाल गर्दै आएपछि किसानहरु बाध्य भई सरकारलाई दबाब दिन शुक्रबार देखि अनिश्चितकालिन रुपमा पुर्वपश्चिम राजमार्ग अवरोध गर्ने निर्णय गरेका हुन् ।

उखु किसानहरु उखु उत्पादक कृषक समितिको नेतृत्वमा शुक्रबार नवलपरासीको बर्दघाट स्थित राजमार्ग अवरोध गर्ने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । हाईवे बन्द गर्न जिल्ला भरिका किसानहरु उतार्ने समितिको योजना छ । धेरैभन्दा धेरै किसान उतार्न गाउँ–गाउँमा माईकिङ्ग समेत भैरहेको सम्मेलनमा जानकारी गराइएको हो ।

एक साता अगाडी जुटेको किसानहरुको भेलाले मिलबाट भुक्तानी दिलाउन सरकारलाई दबाब दिन राजमार्ग अवरोध गर्ने, उखुको समर्थन मुल्य भुक्तानी रकम पाउन लगायतका निर्णय गरेका छन् ।

उखु मिलहरुले किसानका ४५ करोड रुपैया अहिलेसम्म भुक्तान नदिएकाले यो भुक्तान रकम सरकारले दिलाउन दबाब दिन किसानहरु हाईवेमा उत्रिने निर्णय गरेको समितिका अध्यक्ष उमेश चन्द्र यादवले बतए । अध्यक्ष यादवले भने, जिल्लामा ईन्दिरा सुगर ईण्डष्ट्रि प्रा.लि, बागमती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा यि ठुलो उखु उद्योगबाट ४५ करोड रुपैया भुक्तान लिन हिसाब देखिएको छ जस मध्ये बागमति चिनीमिलले २६ करोड, ईन्दिरा सुगर मिलले १७ करोड र लुम्बिनी चिनी मिलले २ करोड रुपैया भुक्तान गर्नु पर्ने बताए ।

उखु क्रसिङ्ग सकेको ६ महिना वितिसक्दा पनि मिलहरुले किसानहरु संग उधारोमा किनेको उखुको भुक्तानी रकम अझैसम्म दिएका छैनन् । सरकारले निर्धारण गरेको समर्थन मुल्य प्रति क्विन्टल ५३६ रुपैयाका दरले किसानले पाउने पर्ने भुक्तान रकम मिलहरुले विभिन्न बहाना बनाउदै किसानहरुलाई टार्दै आएका छन् ।

किसानहरुले मिलहरुलाई दबाब दिन जिल्ला प्रशासनलाई आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गत गत अषाढ महिनामा मिल संचालक र किसानहरु बिच भुक्तान गराउन सहमति गराएका थिए तर मिलहरु जिल्ला प्रशासनलाई समेत अटेरी गर्दै भुक्तानमा आलटाल गर्न थालेपछि मिलहरुबाट भुक्तान दिलाउन सरकारलाई दबाब दिन राजमार्ग अवरोध गर्ने निणर्य गरेको उखु किसान विस्मिल्लाह अंसारीले बताए ।

त्यस्तै ५ विगाहा क्षेत्रफलमा उखु खेतीका गरेका प्रतापपुर गाउँपालिकाका किसान रिन्कु गुप्ताले अझै ४ लाख रुपैया पेमेन्ट लिन चिनी मिल धाउने गरेको बताए । उनले भने, पेमेन्ट दिन मिलहरु आजभोली भन्दै टार्दै आएका गुनासो गरे । चर्काे व्याजमा ऋण निकालेर उखु खेती गरेका गुप्ता ऋणको ब्याज तिर्न त पर जाओस् घर व्यवहार मिलाउन समेत गाहे भएको दुखेसो पोखे ।

जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ जसमा १२ हजार किसान आवद्ध छन । सो खेतीबाट १८ लाख क्विन्टल उखु उत्पादन भएका समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here