बजेट अभावले दुई दर्जन खानेपानी आयोजना अलपत्र : ३ अर्ब बजेट आवश्यक

0
316

–सहबान अंसारी–

परासी, २ असोज । बजेट अभावले नवलपरासीमा दुई दर्जन खानेपानी आयोजना अलपत्र परेका छन् । पश्चिमी नवलपरासीमा निर्माणाधिन २४ वटा ठुलो खानेपानी आयोजना बजेटको अभावमा पुरा हुन सकेका छैन । ३ देखि ५ बर्षसम्मको म्याद राखी ५ करोड देखि २० करोड रुपैया सम्मको ठुला–ठुला खानेपानी आयोजनाहरु बजेटकै अभावमा समयमा सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख पुर्ण बहादुर ज्वारचनले बताए ।

प्रमुख ज्वारचनले भने, समयमै आयोजनाहरु सम्पन्न गर्न चाहिएको बजेट भन्दा कम बजेट आउने र आएको बजेटमा जिल्लाका विभिन्न निर्माणाधिक खानेपानी आयोजनाहरुलाई भागबण्डा गर्दा थोरै–थोरै बजेट पर्ने हुँदा ति आयोजना समयमै सम्पन्न हुन ढिला हुदै गएका हुन् । अधिकांश आयोजनाको ओभरहेड पानी टंकी निर्माण भई बोरिङ्गहरु समेत भैसकेपनि गाउँ–टोलमा पाईप बिछाउने बजेटको अभाव र उपभोक्ता समितीको जन–सहभागिता र निस्क्रियताले जनताहरु विशुद्ध खानेपानी खान नपाएको प्रमुख ज्वारचनले बताए ।

डिभिजन कार्यालय अन्तरगत पश्चिमी नवलपरासीमा अहिले करिब ३० वटा ठुला–साना खानेपानी योजना रहेका छन । एका तिर कार्यालय खारेज भई सकेको अवस्था र नयाँ कार्यालयको रूपमा नयाँ कुनै परिपत्र आई नसकेको अवस्थामा ति आयोजनाको भविष्य पनि अन्यौलमा रहेको कार्यालयले जनाएको छ । जिल्लामा रहेका केहि आयोजनाहरु निर्माण कार्य सम्पन्न भई पाईप विस्तार खाने धारा जोडने कार्य बाकी रहेको छ भने अधिकांश आयोजनाहरु निर्माणको क्रममा रहेको कार्यालयले जनाएको छ ।

यता रामग्राम नगरपालिका ४ स्थित बैरिहवामा सम्पन्न भएको रामग्राम खानेपानी आयोजना बजेटको अभावले पाईप विस्तार र धारा जोडन नसकेर जनताहरु विशुद्ध खानेपानी खान नपाएको रामग्राम खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामकुण्डल यादवले बताए ।
नवलपरासीको परासी र नवलपुर क्षेत्रका ठुला–साना सबै आयोजनाहरु सम्पन्न गर्न अझै ३ अबै रुपैया भन्दा बढि बजेट आवश्यक रहेको डिभिजन कार्यालयले जनाएको छ ।

यसबर्ष बजेटको प्राप्ती र कार्यालयको सुनिश्चिता भए गुठीप्रसौनी खानेपानी आयोजना, लोकेश्वर खानेपानी आयोजना, रामनगर खानेपानी आयोजना, बैरिहवा खानेपानी आयोजना, बाँसा खानेपानी आयोजना र बेलासपुर खानेपानी आयोजनाबाट यहीबर्ष पिउने पानी आपुर्ति गर्ने सकिने डिभिजन इन्जिनियर प्रदिप रेग्मीले बताए ।

त्यस्तै ओभरहेड निर्माणाधिन रहेको सुकौली खानेपानी आयोजना, पाथभैया खानेपानी आयोजना, कुडिया खानेपानी आयोजना, कर्मैया खानेपानी आयोजना, घनश्यामपुर खानेपानी आयोजना र बडहरादुबौलिया खानेपानी आयोजनालाई पनि यसै बर्ष सकेर पानी सप्लाई गर्न सक्ने अवस्था रहेको ईन्जिनियर रेग्मीले जानकारी दिए ।

जिल्लामा निर्माधिन अवस्थामा सनई खानेपानी आयोजना, भुजहवा खानेपानी आयोजना, गुठीसुर्यपुरा खानेपानी आयोजना, देवगाव खानोपनी आयोजना, नर्सही खानेपानी आयोजना र पकलिहवा खानेपानी आयोजना रहेका छन् ।

बजेटकै अभावले जिल्लामा एउटा आयोजना सम्पन्न गर्नका ६ बर्षदेखि १२ बर्षसम्म पनि लाग्ने गरेको छ । कार्यालय खारेजिको अवस्थामा पुग्दा पनि जिल्ला विभिन्न ७ स्थानिय तह–हरु यस खानेपानी आयोनाहरुलाई सम्पन्न गराउन र जनताहरुलाई विशुद्ध खानेपानी खुवाउन तर्फ ध्यान नदिएको उपभोक्ता समितिहरुले आरोप लगाए छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here