श्रीधर उपाध्याय
गैँडाकोट, २ असाेज । । पूर्वपश्चिम राजमार्गको शिलन्यास चोकबाट उत्तरपूर्व करिब १ घण्टाको मोटरसाइकल यात्रा पछि पुगीन्छ गैँडाकोट ३ को हर्दि । जनजातिको बढी बाहुल्यता रहेको हर्दिमा धेरै समस्या छ । त्यसमा पनि विजुली बत्ती र यातायातको समस्या धेरै रहेको छ । त्यहाँका स्थानीय यातायात नभएकै कारण विजुली आउन नसकेको स्थानीय पूर्णमाया मगर बताउनुहुन्छ ।
विजुली वत्तीका लागि तार र पोल सबै पुगिसकेको छ । केही पोलमात्र लैजान ठाउँठाउँमा पहिरो गएपछि समस्या देखिएको छ । सोलार राखको स्थानीयले केही राहत भने पाएका छन् । सोलार त्यति भरपर्दो नहुने र बिजुली नहुँदा पढाइ समेत प्रभावित हुने विद्यार्थीहरु बताउँछन् ।
२३ वर्ष देखि हर्दिमा बस्दै आउनुभएका झ्यांग बहादुर विक दशैँसम्ममा विजुली आउँछ कि भन्ने आशमा हुनुहुन्छ । हामीसंगै हर्दि पुग्नुभएका गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी भने बाटोमा गएको पहिरो वर्षा नरोकिने बेलासम्म हटाउन नसकिने र विद्युत प्राधिकरणले उपलब्ध गराएका पोल लिएर आउन नसकेका कारण नै विजुली ल्याउन समस्या भएको बताउनुभयो । दशैँ सम्म नभएपनि एक महिना ढिलो चाँडो विजुली ल्याउने वडा अध्यक्ष तिवारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जेठ अषाढ देखि पहिरोले अवरुद्ध सडकका सन्दर्भमा बर्खा रोकिएपछि मात्रै मर्मत गर्न सकिने वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।
करिब ७० घरपरिवार रहेको हर्दि गाउँका बासिन्दा विस्तारै विकास हुन्छ भन्ने आशमा रहेका छन् । केलादीमा भने अघिल्लो वर्ष नै वडा अध्यक्ष तिवारीले बिजुली पुर्याइसक्नुभएको छ । विजुली पुगेपछि केलादीमा स्थानीय संगसंगै सामान्य रुपमा रेष्टुरेन्ट तथा खाजाघर बढी लाभान्वित भएका छन् । अघिल्ला वर्षका तुलनाहरुमा यस वर्ष व्यपार बढेको उनिहरुको भनाइ छ ।