परासी, १ असोज । नवलपरासीको सदरमुकाम परासी बजारमा जडान गरिएको १० लाख भन्दा बढिकाे सिसि टिभी क्यामेरा मर्मत नहुँदा विग्रेर खतम्म भएको छ । सदरमुकाम परासी बजारको गतिविधिलाई चुस्त दुरुस्त रेकर्ड राख्न ७ ठाउँमा जडित सिसी टिभि क्यामेराहरु बर्षाै देखि मर्मतको अभावमा विग्रेको खतम्म भएको हो ।
अार्थिक बर्ष २०६८/०६९ मा जिल्ला प्रहरी कार्यालयको नेतृत्व र उद्योग बाणिज्य संघ लगायत विभिन्न बैक वित्तीय संघ सस्थाहरुको आर्थिक सहयोगमा परासी बजारको मुख्य–मुख्य ७ ठाउँमा ७ वटा सिसी टिभि क्यामेरा जडान गरिएको थियो तर विग्रेपछि समयमै मर्मत नभएको हुँदा सो मध्ये अहिले कुनै पनि क्यामेरा संचालनमा छैन ।
सुरक्षा निकायले नागरिक तथा विभिन्न कार्यालय, बैकबित्त संघसंस्थाहरुलाई सुरक्षाको घेरामा राख्दै अपराधिक गतिविधि नियन्त्रणका लागि कडा निगरानी राख्ने उद्देश्यले विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा कम्प्युटर नेटवर्क एसोसिएट नक्साल काठमाण्डौबाट जडान गराएको थियो ।
एकबर्ष पछि उक्त सिसी टिभि क्यामेरा विग्रेपछि मर्मतको लागि जडान गरेको कम्पनीलाई आग्रह गर्दा कम्पनीले जडान गरेको बक्यौता ३ लाख रुपैया माग गरेको थियो । सो कम्पनीको बक्यौता ३ लाख रुपैया तिर्न नसकेपछि मर्मतको अभाव ति क्यामेराहरु बिग्रेर नष्ट भएका उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं प्रदेश सांसद बैजनाथ जयसवालले जानकारी दिए ।
दुईबर्ष अगाडी सदरमुकाममा शान्ती सुरक्षाको राम्रो व्यवस्था मिलाउन जडित सीसी क्यामेरालाई पुनः संचलनमा ल्याउन अतिनै आवश्यक छ भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ र विभिन्न बैक तथा बित्तय संघ संस्था र व्यवसायीहरुको सहभागितामा बसेको बैठकमा आर्थिक संकलन गरि कम्पनीको बाँकी रकम चुक्ता गरेर क्यामेरा चाडोभन्दा चाडो मर्मत गरि संचालनमा ल्यानउ सहमति भएको थियो । तर सम्बन्ध्ति निकायको निस्कृयतामा त्यसमा कुनै काम हुन सकेन जसकारण क्यामेरा विग्रेर खतम्म नै हुन पुग्यो ।
क्यामेराहरु विग्रेदेखि प्रहरीलाई परासी बजारको सम्पूर्ण गतिविधिको रेकर्ड राख्न असहज भएकोे छ । चाडपर्वहरुको बेला, नागरिक सुरक्षा, अपराधिक गतिविधिक नियन्त्रण गर्न र बैंक वित्तिय संघ संस्थाहरुलाई सुरक्षाको कडा घेरामा राख्न प्रहरीको उद्देश्य छ तर क्यामेरा संचालनमा नआएकाले प्रहरीले असहज महसुस गरेको जनाएको छ ।