परासी, १७ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले क्षयरोगका विरामी पत्ता लगाउन खकारको सेम्पल संकलन गर्न थालेकोे छ । गाउँपालिकाले वडा नं. ५ र ६ मा क्षयरोगको लक्ष्ण देखिएका सशंकित व्यक्तिहरुमा क्षयरोग छ छैन भनि पत्ता लगाउन उनीहरुको खकार संकलन गर्ने अभियानमा जुटेको छ । क्षयरोगको संक्रमण हुन सक्ने केहि व्यक्तिहरु स्वास्थ्य संस्थाहरुमा खकार परिक्षण नगराएकाले यस्ता व्यक्तिहरुबाट समुदायमा क्षयरोग संक्रमण व्यापक रुपमा सर्न सक्ने हुँदा उक्त जोखिम न्युनिकरणका लागि पालिकाले यस्तो अभियान थालेको स्वास्थ्य शाखाका कम्पुटर अपरेटर अजय पटेलले जानकारी दिनु भयो ।
उहाँले समुदायमा रहेका केहि व्यक्तिहरु लाज मानेर खकार परिक्षण र उपचारका लागि अस्पताल तथा स्वास्थय संस्थामा नर्आइ गाउँघरमै लुकेर बसेकाले यस्ता व्यक्तिहरुबाट क्षयरोगको जोखिम समुदायमा बढन सक्ने हुँदा यो अभियान संचालन गरिएको जानकारी दिनु भयो । अहिले गाउँपालिकाले वडा ५ र ६ बाट खकार सेम्पल संकलन कार्य शुरु गरेको छ । संकलन गरिएका ति खकारहरु परिक्षण गरि क्षयरोगी पत्ता लागेको विरामीहरुलाई निशुल्क औषधी र उपचार दिएर क्षयरोगको जोखिम न्युनिकरणमा पालिका लागी रहेको स्वास्थ्य शाखा कम्पुटर अपरेटर पटेलको भनाई छ ।
स्वास्थ्य शाखाले पाल्हीनन्दन आधारभुत अस्पतालमा कार्यरत ल्याब टेक्नििसियन श्रवण कुमार पटेल, सिअहेव मित्रलाल पंगेनी र सिअहेव विष्णु पाण्डेको संयुक्त टोलीलाई खकारको सेम्पल संकलनमा खटाएको छ । समुदायमा यसरी क्षयरोगको लक्ष्ण देखिएका सशंकित व्यक्तिहरुको खकार संकलनका लागि स्वास्थ्य शाखाले महिला स्वयसेविकाहरुलाई परिचालन गरि वडा नं. ५ को गेरमी स्वास्थ्य चौकी र वडा ६ को सनई स्वास्थ्य चौकीबाट खकार संकलन गरेको ल्याब टेक्निसियन श्रवण कुमार पटेलले जानकार दिनु भयो । उहाँका अनुसार वडा नंं ५ बाट ७६ जना र वडा नं. ६ बाट ७५ जनाको खकार सेम्पल संकलन गरिएको छ र ति संकलित खकार सेम्पल पाल्हीनन्दन आधारभुत अस्पतालमा परिक्षण गरि क्षयरोगी पत्ता लगाईने बताउदै क्षयरोगी पत्ता लागेका विरामीहरुलाई निगरानीमा राखी निशुल्क औषधी र उपचार गरिने जानकारी दिनु भयो ।
यसरी समुदायमा लुकेर बसेका क्षयरोगी विरामीहरुलाई समयमै औषधी उपचार गर्न सके समुदायमा क्षयरोग संक्रमणको जोखिम समयमै रोकथाम गर्न सकिने र विरामीलाई मृत्युको जोखिमबाट बचाउन सकिने ल्याब टेक्निसियन पटेलको भनाई छ । पहिचान भईसकेका क्षयरोगका विरामीहरुलाई औषधी उपचार भै नै रहेको पनि उहाँले जानकारी दिनु भयो ।गाउँपालिकाले पाल्हीनन्दनलाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तगर्त दुईटा वडाबाट यसरी कार्य थालेको स्वास्थ्य शाखाले जानकारी दिएको छ । संघिय सरकारले पनि क्षयरोग रोकथामका लागि विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।