काठमाडौं, २१ पुष । सरकारले सर्लाहीको बरहथवा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति पनि बनाएको छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहने गरी समिति गठन गरिएको हो । घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई सात दिनको समय दिइएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।
“नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।