परासी, २८ भदौ । नवलपरासीको सिमावर्ति बजारमा पैसा सटही काउन्टर नहुँदा नेपाली जनताहरु ठगिदै गएका छन् । सो क्षेत्रमा मुद्रा साटने अधिकारीक सटही काउन्टर नभएको मौका छोप्दै स्थानिय साहुहरुले नेपाली उपभोक्तालाई ठग्ने गरेका हुन् ।
राष्ट्र बैंकले निर्धारण गरेको मुद्रा बिनिमय दर प्रति १ सय भारु रुपैया खरिद गर्दा नेपाली १६० रुपैया १५ पैसा तिर्नु पर्नेमा साहुहरु ४ रुपैया बढि बट्टा लिएर १६४ रुपैया लिने गरेको स्थानिय पत्रकार लक्ष्मी हरिजनले जानकारी दिए ।
भारतीय बजारमा समान किनमेल गर्न वा भारतको कुनै ठाउ जाँदा नेपालीलाई भारतीय मुद्रा आवश्यक पर्ने गर्दछ । सिमा क्षेत्रमा अधिकारिक सटही काउन्टर नहुँदा नेपाली जनताहरु बाध्य भएर भारतीय बजारमा राखिएको अवैध सटही काउन्टरबाट भारतीय मुद्रा साटदा ठगिने गरेको हरिजनले बताए । पैसा सटही गर्ने भारतीय साहुहरु भारतीय पैसा स्टक गरि ठाउँ–ठाउँमा बसेको पाईन्छ ।
नेपाली उपभोक्ताहरु नेपाली रुपैयालाई भारतीय मुद्रामा एक्सचेन्ज गराउदा प्रति सयकडा ४ रुपैया ठगिमा पर्ने गरेका छन् । भारतीय सिमावर्ति बजार ठुठीबारी, लक्ष्मीपुर, भंैसालोटन, झुल्नीपुर र बरगदवाँ जस्ता बजारको ठाउँ–ठाउँमा स्थानिय साहुहरु अवैध रुपमा मुद्रा साटने सटही काउन्टर खोलेर बसेका छन् । त्यति मात्र होईन भारतीय बजारका सबै पसलेहरुपनि नेपाली पैसा लिँदा सोही दर अनुसार प्रति सयकडा ४ रुपैया बट्टा लिएर मात्र कारोबार गर्ने गरेको उपभोक्ताहरु बताउछन् ।
जिल्लाको मुल नाका महेसपुर सहित भुजहवाँ, झुल्नीपुर, त्रिवेणी र विषुनपुरा जस्ता सहायक नाकामा पनि मनी एक्सचेन्जर नहुँदा भारतीय बजारमा नेपाली जनताहरु ठगिमा पर्दै आएका छन् । यसरी बढि बट्टाको चपेटमा पर्ने नेपाली जनताहरु संग अरु कुनै विकल्प पनि नरहेको बताउछन् । भारतीय सिमावर्ति बजार संगै नेपाली सिमावर्ति बजारमा पनि चर्काे बट्टामा पैसा सटही गर्ने मध्यस्तकर्ताहरुको विगबिगी बढेको पाईन्छ तर यसलाई नियन्त्रण गर्न भने सम्बन्धित निकाय मौन बसको अवस्था छ ।
पैसा बिनिमय दर तलमाथि भईरहदा पनि व्यपारीहरुले पैसा साटने दर ४ रुपैया भन्दा घटाएका छैनन् । यसरी नेपाली जनता पैसा बिनिमयमा प्रत्यक्ष ठगिने क्रम बढदै जाँदा सिमा क्षेत्रका जनताहरुले सो क्षेत्रमा सटही काउन्टरको माग पनि गरेका छन् र ठग्ने क्रमलाई नियन्त्रण गर्न सुरक्षा निकाय लगायतको सम्बन्धित निकायलाई आग्रह पनि गरेका छन् ।