परासी, २७ भदौ । नवलपरासीको सुनवल नगरपालिकामा आयोजित खुल्ला तिजगित कार्यक्रममा महिलाहरु तिजगितमा नाचेर निकै रमाईलो गरेका छन् । स्वाभिमान युवा क्लबद्धारा आयोजित खुल्ला तिजगित तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय लोक गायकहरुले गएकोे तिजगितमा महिलाहरु नाचेर निकै रमाईलो गरेका हुन् ।
स्वाभिमान युवा क्लबका अध्यक्ष एवं सुनवल नगरपालिकाका युवा समाजसेवी यज्ञ प्रसाद पौडेल (बिन्दु) को अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाक्षेत्रीको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा, दिप प्रज्वलन गरि मेयर थापाले कार्यक्रमको उद्दघाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोकगायक दिपक खडकाले तिजको धमाकेदार गितगाई महिलाहरुलाई रमाईलो गराएका थिए । हिन्दु नारीहरुको महान चाँड हरितालिका तिज २०७५ को अवसरमा महिला दिदीबहिनीहरुलाई रमाईलो गराउने उद्देश्यले सुनवलको चोकमा स्वाभिमान युवा क्लबद्धारा आयोजित यस कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष दिपक खडका, राष्ट्रिय लोक गायक मोहन खडका, टिका तारमी मगर, झर्ना पुन मगर र भुपराज न्यौपाने लगायतले धमाकेदार गित गाई सुनवल बजार तताएका थिए ।
कार्यक्रममा हजारभन्दा बढिको संख्यामा उपस्थित भएका महिला तथा पुरुषहरु तिजगितमा उत्साहित भएर नाचेका थिए । युवा क्लबले सुनवल नगरपालिकामा तिजको रौनक बढाउन र महिला एवं किसोरीहरुलाई रमाईलो गराउन यस्तो अवसरको आयोजना गरेको क्लबका अध्यक्ष यज्ञ प्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाक्षेत्री, सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, वार्ड ६ का अध्यक्ष राम प्रसाद लामा, वार्ड १२ का अध्यक्ष यमलाल पाण्डे, नेपाल परिवार नियोजन संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष सपना थापा अधिकारी, रेडियो सुनवलका अध्यक्ष विष्णु प्रसाद पौडेल, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, युवा समाजसेवी गोपाल भट्टराई, दिपक तिवारी, जयराम बस्याल, शंकर चोखाल लगायतले तिजको शुभकामना दिएका थिए ।
तिजको अवसरमा सुनवल बजारमा आयोजना गरेको यस कार्यक्रमा चौतर्फि प्रशंसा भएको पाइएको छ । आगामी दिनमा तिजलाई सुनवलमा भव्य र सभ्य तरिकाले मनाउने आयोजकको लक्ष्य रहेको छ ।