काठमाडौँ, ५ भदाैं। बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ । संगठित रुपमा जग्गा घोटाला गर्नेहरुविरुद्ध १८ अर्बबढी बिगो कायम गरेर वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए । मंगलबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ ।
जग्गा घोटामा संलग्न २१ जनाको मृत्यु भएको छ । संलग्न मध्येका पूर्व मुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतानसहित निवेदन दिनेहरुलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ । जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा ‘संगठित किर्ते’ गर्ने भूमिकामा पूर्वमन्त्रीहरु संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।