परासी, ३० साउन । कृषि उपजको सुरक्षित भण्डारण गर्ने उद्देश्यले सुस्ता गाउँपालिकाले शित भण्डार निर्माण गरेको छ । कृषि पकेट क्षेत्रको रुपमा रहेको सुस्ता तथा प्रतापपुर गाउँपालिकाका किसानहरुले कृषि क्षेत्रमा उत्पादन गर्ने फलफुल, अन्नबाली, तरकारी लगायतका कृषि उपजनीको सुरक्षित भण्डारणका लागि गाउँपालिकाले वडा ४ नर्सहीमा ५०० मेट्रिक टन क्षमताको शित भण्डार (कोल्ड स्टोर) निर्माण गरेको छ । रु ४ करोड ९९ लाख ४१ हजार २९९ रुपैयाको लागतमा कालीगण्डकी रबिना जेभी रुपन्देहीले ठेक्का मार्फत उक्त कोल्ड स्टोर निर्माण गरेको हो । अहिले कोल्ड स्टोरको संरचना तयार भई चिस्यानका लागि एसिहरु जडानका काम मात्र सम्पन्न भएका छन् । अभैm कोल्ड स्टोर संचालनमा ल्याउन विद्युत जडान , ट्रान्सफर्मर जडान, र वाईरिंगको कामको काम बाकी नै रहेको छ भने यता कोल्ड स्टोरको बाउण्डरी वाल, गार्ड क्वाटर, चिस्यानको लागि विभिन्न मेसिनिकल उपकरणहरु जडान लगायतका मुख्य कामहरु बाकी नैरहेको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय बताउनु भयो । उहाँले पहिला यसको संरचना बनाउन मात्र ठेक्का दिइएको थियो तर अब बाकी देखिएका कामहरु सम्पन्नका लागि ठेक्का लगाउने प्रकृया पालिकाले अगाडी बढाइएको र आगामी मंसिरबाट कोल्ड स्टोर पुर्ण रुपमा संचालनमा ल्याउने तयारी भैरहेको अध्यक्ष उपाध्यायले प्रतिबद्धता जाहेर गर्नु भयो ।
जिल्लाको सुस्तामा बनेको उक्त कोल्ड स्टोरमा स्थानिय किसानहरु आफुँ उत्पादन गरेको आलु, प्याज, लहसुन, केराउ, सागसब्जी, तरकारी, फलफुल र अन्नबाली उचित भाडा दरमा स्टोेर गर्न पाउने छन भने ब्यापारीहरुले पनि भारतबाट आयात गर्ने फलफुल, तरकारी, अन्नबाली लगायत खाद्यान्नका सरसमानहरु उचित भाडादरमा स्टोर गर्न पाउने पनि व्यवस्था रहने पालिकाले जनाएको छ । उक्त कोल्ड स्टोरको जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवद्धारा अनुगमन पनि भएको छ । अनुगमनको क्रममा समन्वय प्रमुख यादवले यस कोल्ड स्टोरको फाइदा र प्रभावकारिता बारे जिकिर गर्दै यसलाई छिटै संचालनमा ल्याउन पालिकालाई आग्रह पनि गर्नु भयो । यसरी जिल्लामा २ वटा कोल्ड स्टोर निर्माण भएको छ एउटा यहि सुस्ताको कोल्ड स्टार र अर्काे सुनवल नगरपालिकामा रहेको छ ।