परासी, २८ साउन । ठेकदार कम्पनीको चरम ढिलाईका कारण सात बर्षमा पनि हुलाकी सडकको काम सम्पन्न हुन सकेको छैन । पश्चिम नवलपरासीको परासीदेखि नारायणचोकसम्म कुल १३ किलोमिटर दुरीको हुलाकी सडक सातबर्षमा पनि कालोपत्रेको काम सम्पन्न नहुँदा स्थानिय र यात्रीहरु सास्ती खेप्दै आएका छन् । उक्त हुलाकी सडकको कालोपत्रे नभएका भागमा यतिबेला ठुलोठुलो खाल्डाखुल्डी भई पानी जम्ने र सडक हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई हुने र दुर्घटनाको जोखिम पनि बढदै गएको रामग्राम १२ का स्थानिय बृजेश गुप्ता बताउनु हुन्छ । बर्षाको सयममा सडक हिलाम्मे र घामको समयमा धुलाम्मे हुने हुँदा स्थानिय र यात्रा गर्ने यात्रीहरु निकै सास्ती खेप्ने गरेका छन भने उक्त बाटोमा पर्ने पुराना सानासाना जिर्ण कल्भर्टहरुले झनै दुर्घटनाको जोखिम बढेको गुप्ता बताउनु भयो ।
परासी सदरमुकाम संग जोडिएको उक्त हुलाकी सडक रामग्राम नगरपालिका हुदै, सरावल गाउँपालिका र बर्दघाटन नगपालिका जोडेको छ । परासीदेखि नारायणचोकसम्म कुल १३ किलो मिटरदुरी कालापत्रे गर्ने उक्त सडकको काम २०७३ सालमा द कन्चनजंङ्गा विरुवा शिवशतिm जेभिले २५ करोड १९ लाख ७० हजार ५ सय ५० रुपियामा ठेक्का लिई काम शुरु गरेको थियो । सडकको अधिकांश भाग पिच भईसकेको छ तर परासीदेखि बैकुण्ठपुर, पटखौली देखि मनरीसम्म बाटो पिच हुन बाकी छ भने उक्त बाटोमा रहेका ४ वटा कल्भर्टको वरपरपनि अझै पिचको काम बाकी नै रहेको र काममा ठेकदार आलटाल गरि ढिलाई गरिरहेको रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरले आरोप लगाउनु भयो ।
२०७५ सालको फागुनमा परियोजना सम्पन्न गर्नुपर्ने ठेक्का म्याद पाएको ठेकदार कम्पनीले विगत ४ बर्षदेखि बर्षेनी म्याद थप गराएपनि अझै परियोजना सकेको छैन । यता काम सम्पन्न नहुदै कहिँकहि बाटो भत्किन पनि थालेको छ भने पिच भएको भागमा पनि बेसमा सस्पेन्सले पिच उध्रिदै बाटो विग्रिन थालेको छ । यस हुलाकी परियोजनामा बाटो पिच बाहेक पनि अरु काम गर्न नै बाकी रहेको छ । काम पुरा नहुदै बनाएको पिच पनि यसरी भत्किन थालेपछि ठेकदार अहिले सम्पर्कविहिन रहेको पाइएको छ । काम पुरा गराउन यहाँका स्थानिय तह र सम्बन्धित निकायहरुले ठेकदारलाई सम्पर्क गर्न खोज्दा ठेकदार भागेको भागे गर्ने र सम्पर्कमा नआउने हुलाकी राजमार्ग प्रोजेक्ट गोरुसिंगेको कार्यालयले जनाएको छ । ‘‘समयमा काम सकिदेउ भन्दा भन्दा थाकियो तर ठेकदारले काम पुरा नगरि झनै सम्पर्कविहिन हुने कार्यले हामी प्रावधिकहरु पनि निकै दुख पाएका छौ, यदि ठेकदार सम्पर्कमा आएर काम गरयो भने, उसलाई अन्तिम पटक म्याद थप गर्ने नत्र अब ठेक्का नै तोडेर अर्काै ठेक्का आव्हान गर्ने कार्यालयका प्राविधिकहरुको भनाई छ ।”
बाटो ग्रावेल हुँदा हिलो र धुलोको मार सहिरहेका यात्रीहरु अझै काम पुरा नहुँदा समस्या उस्तै रहेको छ । जिल्लामा यस सहित कुल ३ वटा हुलाकी सडकको काम भैरहेको छ । एउटा नारायणचोक देखि त्रिवेणी र अर्काे बेलाटारी देखि कठहवाँको बाटो रहेको छ । ति दुबै सडकको पनि काम यस्तै सुस्त गतिमा रहेको छ ।
जिल्लाका यि हुलाकी राजमार्ग अन्तरगतका सडकहरुको समयमै सम्पन्न हुन नसके पछि जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले स्थलगत अनुगमन गरेका छन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गर्न थाले पछि जिसस प्रमुख यादवले सडकमा स्थलगत अवलोकनसँगै हुलाकी परियोजना कार्यालयका प्राविधिकसँग यसको निकासका लागि सम्बाद पनि गरेका हुन् ।