पर्यटन क्षेत्रमा थपियो साढे २२ अर्बभन्दा बढी लगानी, कुनमा कति?

0
156

काठमाडौं, ४ जेठ । काठमाडौंको कीर्तिपुरमा तीन अर्ब रूपैयाँ लगानीमा साहसिक पर्यटन (एड्भेन्चर) सहितको होटल बन्ने भएको छ। कीर्तिपुर नगरपालिका-६ मा होटल निर्माणका लागि जे.बी. एड्भेन्चर प्रालि उद्योग विभागमा दर्ता भएको छ। दर्ता विवरण अनुसार कम्पनीले होटलमा ६० सिट क्षमताको रेस्टुरेन्ट बनाउने छ। त्यस्तै वार्षिक चार लाख बीस हजारभन्दा बढीलाई एड्भेन्चर सेवा दिने जनाएको छ।

कम्पनीले एक वर्षमा ५० हजारलाई बन्जी-जम्प गराउने बताएको छ। त्यस्तै, ७० हजारलाई जिपलाइन, ७० हजारलाई स्विङ, ७० हजारलाई स्काई-वाक तथा ग्लास ब्रिज (सिसाको पुलमा रमाउने सेवा), ७० हजारलाई स्काई-साइक्लिङ गराउने, ४० हजारलाई रक-क्लाइम्बिङ गराउने र एक लाख बालबालिकालाई फनपार्कभित्र मनोरञ्जन गराउने बताएको छ।

स्वदेशी लगानीमा बन्ने यो परियोजनामा एक सय ५० जनाले रोजगारी पाउने उल्लेख छ। योसँगै चालु आर्थिक वर्षको दस महिनामा पर्यटन क्षेत्रमा २२ अर्ब ६७ करोड ९८ लाख रूपैयाँ लगानी थपिएको छ। उद्योग विभागको तथ्यांकअनुसार यो आर्थिक वर्ष साउनदेखि वैशाखसम्म होटल, क्यासिनो र केबलकारमा गरी उक्त लगानी थपिएको हो।

पर्यटन उद्योगमा सुविधा सम्पन्न तारे होटल, बुटिक र रिसोर्टहरू थपिइरहेका छन्। त्यस्तै क्यासिनो र केबलकार पनि धमाधम खुलिरहेका छन्। कोरोना महामारीअघि सरकारले घोषणा गरेको भ्रमण वर्षलाई लक्षित गरेरै पनि थुप्रै व्यवसायीले पर्यटन उद्योगमा लगानी गरेका थिए। महामारीमा निर्माण थालिएका होटल तथा क्यासिनो अहिले सञ्चालनको तयारीमा छन्।

यो वर्षको दस महिनामा विभागमा देशभरमा एक हजार १२१ कोठासहित ३५ वटा होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन्। त्यस्तै सात वटा क्यासिनो, एउटा केबलकार र एउटा मनोरञ्जन सेवा दर्ता भएको छ।

सबभन्दा धेरै, १८ वटा होटल काठमाडौंमा दर्ता भएका छन्। कास्कीमा सात वटा, ललितपुरमा चार, झापामा तीन वटा होटल दर्ता भएका छन्। गोरखा, सुनसरी, सर्लाही, भक्तपुर, तनहुँ, रूपन्देही, चितवन, नवलपरासी, काभ्रे, नुवाकोटमा एक/एक वटा होटल दर्ता भएका छन्। 

यीमध्ये तीन वटा होटलको लगानी एक अर्ब रूपैयाँभन्दा धेरै छ।

काठमाडौंको बुढानीलकण्ठ हेरिटेज होटलले दुई अर्ब ४० करोड रूपैयाँ लगानी गरेको छ। यहाँ एक सय दुई वटा कोठा छन्।

झापाको आयुष्मान होटलको लगानी दुई अर्ब ५१ करोड रूपैयाँ छ। ९५ वटा कोठा रहेको यो होटल सञ्चालनपछि तीन सय जनाले रोजगारी पाउने बताएको छ। मार्स हस्पिटालिटी ग्रुपले रूपन्देहीमा खोलेको दुई सय कोठाको होटल एक अर्ब ३८ करोड रूपैयाँ लगानीको हो।

कास्कीमा सञ्चालनमा आउन लागेको सिक्लेश अन्नपूर्ण केबलकारको लगानी भने चार अर्ब ९२ करोड ५३ लाख रूपैयाँ छ। यसको वार्षिक १७ लाख ५२ हजार यात्रु आवतजावत क्षमता भएको कम्पनीले जनाएको छ।

त्यस्तै दस महिनामा मनोरञ्जनका लागि मुलुकभर सात वटा क्यासिनो दर्ता भएका छन्। यीमध्ये चार वटा मिनी (साना) र तीन वटा क्यासिनो (मेसिन तथा उपकरणको माध्यमबाट मात्र खेलिने खेल) छन्।

ग्रिन ज्याकपटो इन्टरटेन्मेन्टले मिनी क्यासिनो सञ्चालनका लागि कपिलवस्तुमा २० करोड रूपैयाँ लगानी गरेको छ। त्यस्तै भेन्टेन इन्टरटेन्मेन्टले पोखरामा मिनी क्यासिनोका लागि २० करोड रूपैयाँ नै लगानी गरेको छ।

प्लेजर नेपालले पनि होटल सरोवर कास्कीमा क्यासिनो सञ्चालनका लागि २० करोड रूपैयाँ लगानी गरेको छ।

केही समयअघि सञ्चालनमा आएको झापाको किङ्सवरी होटलमा पनि अब क्यासिनो सञ्चालनमा आउने भएको छ। होटलमा किङ्सवरी इन्टरटेन्मेन्टले उक्त होटलमा क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ लगानी गरेको हो।

मोरङको रत्ना सर्भिसेजले पनि क्यासिनो सञ्चालनमा २० करोड रूपैयाँ लगानी गरेको छ।

गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्टले काठमाडौंको होटल एभरेस्टमा क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ लगानी गरेको छ। त्यस्तै काठमाडौंकै सिटी होटलमा क्यासिनो सञ्चालनका लागि र्‍यांक इन्टरटेन्मेन्ट सर्भिस प्रालिले २५ करोड रूपैयाँ लगानी गरेको छ। 

यी ४४ वटा होटल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक खेलमा तीन हजार ७४२ जनाले रोजगारी पाउने विभागको तथ्यांकले देखाउँछ।

केही वर्षयता होटलमा लगनी थपिइरहेको छ। विशेषगरी कोरोना माहामारीपछि होटल संख्या बढेको होटल संघ नेपाल (हान) ले बताएको छ। पछिल्ला केही वर्षयता पर्यटक आगमन बढेकै कारण होटल व्यवसायमा लगानी बढेको संघका अध्यक्ष विनायक शाहले बताए।

‘हामी भारत र चीनको बीचमा छौं। वर्षमा झन्डै २० करोड चिनियाँ र १० करोड भारतीय नागरिक बाहिर निस्किन्छन्। यसको एक प्रतिशत मात्र ल्याउन पाए पनि चहलपहल बढिहाल्छ,’ उनले भने, ‘विगतमा पनि सबैभन्दा बढी भारतीय र चिनियाँ पर्यटक नै भित्रिएको देखिन्छ। यस कारण पनि होटलमा लगानी बढिरहेको छ। अझै बढ्ने देखिन्छ।’

उनका अनुसार मुलुक कोरोनाको चपेटामा गुज्रिरहेकै बेला पनि होटलमा भने लगानी बढिरहेको थियो। त्यही समयमा बन्न थालेका थुप्रै होटल अहिले सञ्चालनको अन्तिम तयारीमा छन्।

अहिले नेपाल घुम्न आउने पर्यटक बढेका छन्। त्यस्तै अग्रिम बुकिङ समेत राम्रो भइरहेको शाह बताउँछन्।

‘पर्यटक भित्र्याउन समस्या छैन। जति पनि पर्यटक नेपाल घुम्न आउन चाहन्छन्,’ उनले सेतोपाटीसँग भने, ‘हवाइ कनेक्टिभी (सञ्जाल) भने बढाउनुपर्‍यो।’

भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरू गर्न सके पर्यटक आगमन थप बढ्ने उनले बताए। साथै चिनियाँ पर्यटक बढाउन उडान संख्या थप्नुपर्ने उनको भनाइ छ।

विशेषगरी लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर गौतमबुद्ध र पोखरा आउने पर्यटकलाई लक्षित गरेर पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटक संख्या उल्लेख्य रूपमा वृद्धि हुने अध्यक्ष शाहले बताए।#setopati.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here