विराटनगर,२० बैशाख । ठेक्का नै नलागेको स्थानमा सडकको शिलान्यास गरिएको छ । सुनसरीको सदरमुकाम इनरुवादेखि सीमावर्ती गाउँसम्म जोड्ने सडकको सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र कार्की तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं ‘सचिन’ले संयुक्त रूपमा सडकको सोमवार शिलान्यास गरेका थिए । शिलान्यासको शिलालेखमा दुवैले नाम लेखाएका छन् । सडक इनरुवा–४ हनुमान चोकमा शिलान्यास गरिएको थियो । शिलान्यास गरिएको स्थानमा ठेक्का नै लागेको छैन । देवागञ्ज गाउँपालिकादेखि सडक निर्माण गर्ने गरी कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का लगाएको थियो । २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकको मात्रै ठेक्का लागेको पूर्वाधार कार्यालय मोरङका प्रमुख इन्जिनीयर सुशील श्रेष्ठले बताए । कार्यालयले प्रदेश सरकारले निर्माण गर्ने मोरङ र सुनसरी जिल्लाको सडक हेर्ने गर्छ ।
अघिल्लो प्रदेशसभा कार्यकालमा नेपाली कांग्रेस संसदीय दलका तत्कालीन नेता राजीव कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लगेका थिए । कोइराला गत निर्वाचनमा पराजित भएका थिए । उनी सुनसरी क्षेत्र नम्बर २(२) बाट एमालेका उम्मेदवारसँग पराजित बनेका थिए । अहिले शिलान्यास गरिएको स्थान सुनसरी क्षेत्र नम्बर २ मा पर्छ । सांसद कार्कीले निर्वाचन जितेको क्षेत्र सुनसरी ४ हो ।
केन्द्रीय सत्ता गठबन्धनमा एमाले नभए पनि प्रदेशमा भने राष्ट्रपतिको निर्वाचन अगाडिकै गठबन्धन कायम छ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा अहिलेसम्म पनि माओवादी र जसपा छँदैछन् । मन्त्रालय भागबण्डा हुँदा भौतिक पूर्वाधार मन्त्रालय माओवादीको भागमा परेको थियो । केन्द्रीय गठबन्धनलाई समेत सहज हुने र सम्बन्ध समेत थप विस्तार गर्ने उद्देश्यले सांसद कार्कीलाई साथमा लिएर शिलान्यास गर्ने योजना रहेको मन्त्री चापागाईंले बनाएका थिए तर मन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा शिलान्यास गर्ने दबाब दिएपछि ठेक्कै नलागेको सडकमा शिलान्यास गरिएको हो ।
‘सांसदज्यूका अगाडि मन्त्रीज्यूको पनि केही सीप लागेन,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘ठेक्का नलागेको स्थानमा शिलान्यास गर्न बाध्य हुनुपरेको छ । अब पुनः ठेक्का लागेकै स्थानमा शिलान्यास गर्नुपर्ने अवस्था बन्यो ।’
२३ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ । सडक महावीर इन्जिनीयरिङ एन्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३२ करोड ८३ लाख ५ हजार ८०३ रुपैयाँमा ठेक्का पाएको हो । बजेटको सुनिश्चिता भए ३ वर्षभित्र सडक निर्माणको काम पूरा भइसक्ने पूर्वाधार कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
सडक दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिका–६ राशिको चमैनिया पोखरीबाट शुरू भएर इनरुवा–४ मा रहेको सशस्त्र क्याम्प हुँदै मुख्य राजमार्गको हनुमान चौकमा जोडिनेछ । शिलान्यास गरिएको ठाउँ सडकको अन्तिम विन्दु हो । @lokantar.com