लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

0
76

बुटवल, १२ वैशाख । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८(२) अनुसार नयां सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् । विश्वासको मत नपाएको नेकपा एमालेले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।

महान्यायाधिवक्ताको परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको  कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् ।

नेकपा एमालेले मुख्यमन्त्रीले राजनीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८(३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गर्दै आएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् । गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here