परासी, ५ चैत । मदरसा ईस्लामिया आधारभुत जामिया उम्मे हबिबा निस्वाको बार्षिक महिला जलसा कार्यक्रम सम्पन्न भएको छ । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका वडा ३ बेलासपुरमा छात्राहरुका लागि ईस्लाम धर्मको धार्मिक शिक्षा प्रदान गर्न संचालित निस्वां मदरसा (गल्र्स कलेज)ले संचालन गर्दै आएको बार्षिक महिला जलसा (धार्मिक प्रवचन) कार्यक्रम आईतबार एक भव्य समारोह बिच सम्पन्न भएको हो । उक्त जलसा कार्यक्रम मदरसाका अध्यक्ष तबरेज आलम खानको अध्यक्षता पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष फातुमा खातुन (सकिना)को विशेष आतिथ्यता र ईस्लाम धर्मका धर्मगुरु धर्मावलम्बी मौलाना सुफी सिद्दिक खानको विशेष अतिथ्यतामा सम्पन्न भएको हो ।जलसा कार्यक्रममा उक्त मदरसामा अध्ययनरत ४८ जना छात्राहरुलाई सोहि अवसरमा दिक्षित पनि गरिएको हो । उर्दुअरबी भाषाको केरात र आलमियत तहको शिक्षा हासिल गरेकि ति ४८ जना छात्राहरुलाई दिक्षित गरिएको मदरसाका प्रधानाध्यापक मौलाना नैमुल्लाह खानले जानकारी दिनु भयो । उहाँका अनुसार मदरसाले नै चलाएको जामिया उम्मे हबिबा निस्वाँ (गल्र्स कलेज) मा सो क्षेत्रका छात्राहरु स्नातक तहसम्मको अरबी तथा उर्दु भाषामा ईस्लामिक पढाई गर्ने गर्दछन् ।
जलसा कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालका अध्यक्ष बैजु प्रसाद गुप्ताले यस मदरसाको शैक्षिक गुणस्तर र प्रभावकारी शिक्षा प्रदानका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । गाउँपालिका उपाध्यक्ष फातुमा खातुन (सकिना)ले जलसा कार्यक्रमको शुभकामना दिदै मदरसाको प्रगति र प्रभावकारी शिक्षाका लागि पालिकाबाट आवश्यक बजेट तथा शैक्षिक कार्यक्रमहरु पनि दिएर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा धर्मगुरु मौलाना सुफि सिद्दिक खानले ईस्लामिक सन्देशलाई फैलान र ईस्लाम धर्मको संरक्षण तथा प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको जिकिर गर्नु भयो । उहाँले यस मदरसाको उन्नती र प्रगतिको शुभकामना दिदै धार्मिक तथा सामाजिक सदभाव कायम गरेर अगाडी बढन आग्रह गर्नु भयो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, वडा ४ का अध्यक्ष रबिन्द्र सहानीले शुभकामना मन्तब्य राखेका थिए । उक्त निस्वाँ मदरसामा २५० जना छात्राहरु अध्ययन गर्दै आएका छन् । गत बर्ष सो निस्वाँ मदरसामा १९ जना छात्राहरुलाई दिक्षित गरिएको थियो भने यसबर्ष ४८ जनालाई दिक्षित गर्न पाउँदा निकै खुशी भएको मदरसाका अध्यक्ष तबरेज आलम खानले खुशी जाहिर गर्नु भयो ।
जलसा कार्यक्रम महिला धर्मावलम्बी कनिज फातेमा, आलेमा शरवर फातेमा, शाहिन नेशा, रुकैया खातुन, आयसा खातुन, लैसा खातुन, जरिना खातुनले शुभकामना मन्तब्य राखेका थिए । जलसा कार्यक्रममा ८ हजार बढि महिला तथा पुरुषहरुको सहभागिता रहेको मदरसाका शिक्षक समशेर आलम अंसारीले जानकारी दिनु भयो । जलसा सफल बनाउन स्थानिय वाहिद खानको संयोजकत्वमा जलसा सह आयोजक कमेटी पनि गठन गरिएको थियो । उक्त कमेटीले जलसामा आउने पाहुनालाई स्वागत, खाना खुवाउने, अतिथि सत्कार गर्ने, पार्किंग व्यवस्था, स्वयंसेवक लगायतका कार्य गरेका हुन् । उक्त कमेटीको सदस्यामा नुरआलम खान, वसिम खान, अफरोज खान, ईस्राफिल अंसारी, बिकाउ अंसारी, जमालु देवान लगायत स्थानिय युवाहरु रहेका थिए । जलसा कार्यक्रमलाई सफल बनाउन गाउँका स्थानियहरु पनि सघाएका थिए ।