परासी, २० फागुन । बसपार्क नहुँदा अस्तव्यस्त बनेको परासी बजारमा एक सुन्दर व्यस्थित बसपार्क निर्माण गरिएको छ । जिल्लाको सदरमुकाम परासी बजारमा बसपार्क नहुँदा यहाँका बाटोहरुमा बसहरु पार्क गरिने कार्यले बजार कुरुप बन्दै आएको थियो तर सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले एक सुन्दर व्यस्थित आकर्षक बसपार्क निर्माण गरेपछि सो समस्या हटने भएको छ ।
परासी बजारमा बसपार्कको समस्या सामाधान गर्न सघन शहरी तथा भवन कार्यालयले करिब ५ करोड रुपैयामा रामग्राम नगरपालिका ४ केरवानीमा आधुनिक मोडेलको आकर्षक बसपार्क बनाएको छ । उक्त बसपार्कको निर्माणका लागि समिर कन्सट्रक्सनले जिम्मा लिई निर्माण काम सम्पन्न गरेको छ । बनेको बसपार्क छिटै हस्तान्त्रण भएपछि सो क्षेत्रमा छरिका बसहरु पार्क गराई व्यस्थित गरिने आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनु भयो । बसपार्कमा कम्पाउण्ड वाल, सुरक्षागार्ड बस्ने भवन, टिकट काउन्टर, शौचाय, बस राख्ने स्थान, फुटवे, प्रशासनिक भवन लगायतको कार्यहरु सम्पन्न भईसकेका छन् । अब छिटै गेट लगायतको बाकी कामहरु हुनेछन् ।

रामग्राम यति व्यस्थित आधुनिक आकर्षक बसपार्क बनेपछि यहाँका बस व्यवासयी तथा स्थानियहरु निकै उत्साही भएका छन् । रामग्राम नगरपालिकामा सघन शहरीको व्यापक लगानी भित्रिएको आयोजनाका ओभरसियर बिरेन्द्र मण्डलले जानकारी दिनु भयो । उहाँका अनुसार रामग्राममा यो बसपार्क, बुद्धचोकदेखि निलोगेटसम्म फोरलेन बाटो, मन्झरियादेखि झरहीखोलासम्मको बाटो, बाईपासदेखि घण्टाघरसम्मको फोरलेनबाटो, उजैनी, जोकवार, रानीपाकड, लंकहवा, कुनवारमा २ लेनको व्यस्थित ढलसहित पिच बाटो बनेको छ जसले रामग्रामको मुहार नै फेरिदिएको छ ।