परासी, २४ भदौ । नवलपरासीको सरावल गाउँपालिकाको गोबरहियाँ देखि भुजहवाँ सडक खण्ड मर्मत नभएपछि यात्रुलाई समस्या भएको छ । बाटोमा वर्षाको पानी जमेर बाटो हिलाम्मे र खाल्टाखुल्टी भएर ध्वस्त भएपछि यात्रुलाई यात्रा गर्न कठिनाई भएको गुनासो गरेका हुन् ।
जिल्लाको सरावल गाउँपालिका वार्ड ४ गोबरहियाँ देखि वार्ड नम्बर ७ भुजहवाँ सम्मको उक्त बाटो बर्षाले बिग्रेर ध्वस्त बनेको छ जसले गर्दा साईकल–मोटरसाईक तथा साना–ठुला सवारी सधानलाई आवत जावत गर्न निकै कठिनाई भएको छ । खास गरि उक्त क्षेत्रमा बाटो बिग्रेकै कारण गर्भवति महिला तथा गम्भीर विरामीहरुलाई अस्पताल लैजान एम्बुलेन्स समेतले आउन नमानेको स्थानिय सुखारी चौधरीले बताए ।
गोबरहियाँ चोकदेखि धनगडाँ, पुसौली, रामपुर खडौना हुदै भुजहवाँ सम्मको १० किलो मिटरको उक्त बाटो हिलाम्मे र खाल्टाखुल्टीले यात्रा गर्न समस्या भएको यात्रु बताउछन् । त्रिवेणी देखि सनईसम्म बगेको मुल गण्डक नहरबाट फाटेर सब–नहरको रुपमा बगेको गोबरहियाँ चोकदेखि पुसौली सम्मको उक्त नहर बाटोको मर्मतका लागि गण्डक सिँचाई व्यवस्थापन कार्यालय सेमरी, तत्कालिन जिल्ला विकास समिति र साविकको गाविसले नगरेका कारण अहिले बाटो धेरै विग्रेर ध्वस्त भईसकेको स्थानिय बताउछन् । उनले भने, ‘‘बेलासपुरदेखि मझौनीसम्म मुल गण्डक नहरको बाटोको हालत पनि यस्तै छ” त्यो बाटो भएर यात्रा गर्न निकै अप्ठयारो हुने गरेको बताए ।
यता जनताको दुःखको देखेर तत्काल उक्त बाटो मर्मतका लागि सरावल गाउँपालिकाले २० लाख रुपिया बिनियोजन गरि ग्राभेलिङ्गका लागि टेण्डर समेत भईसकेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । उनले भने, बाटो मर्मतका लागि टेण्डर भईसकेको छ अब केहि दिनमै ग्राभेल खसाल्ने कार्य शुरु हुन्छ जसले गर्दा यात्रुहरुलाई राहत हुने विश्वास लिएको बताए । गाउँपालिकमा रहेका यस्तो खाल्टाखुल्टी सबै बाटोहरुलाई तत्काल मर्मत गर्ने गाउँपालिकाको योजना रहेको उनले सुनाए ।